गान्ताेक: राज्यपाल ओमप्रकाश माथुर तीन दिवसीय भ्रमणको सिलसिलामा आज गेजिङ जिल्ला आइपुगेका छन्। उनी आज (२० मई) देखि २२ मई, २०२६ सम्म यस क्षेत्रको भ्रमणमा रहनेछन्। स्थानीय जनजीवनलाई नजिकबाट बुझ्न तथा नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्न राज्यपालले यो भ्रमण गरेको राजभवनद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।
भ्रमणको पहिलो दिन राज्यपाल माथुरले लबिङ, गेरेथाङस्थित कस्तुरबा गान्धी बालिका विद्यालयको भ्रमण गरे। विद्यालय परिसरमा छात्राहरूले उनलाई भव्य स्वागत गरेका थिए। निरीक्षणका क्रममा राज्यपालले छात्रा, शिक्षक तथा शिक्षा विभागका अधिकारीहरूसँग विशेष संवाद गरे।
सो अवसरमा छात्रा तथा शिक्षकहरूले विद्यालयमा खेल मैदानको अभाव र एम्बुलेन्स सेवाको आवश्यकता जस्ता मुख्य समस्या तथा चुनौतीहरू राज्यपालसमक्ष राखेका थिए। राज्यपालले यी मागहरूलाई ध्यानपूर्वक सुन्दै प्राथमिकताका साथ समाधानका लागि पहल गर्ने आश्वासन दिए। उनले छात्रावासको व्यवस्था र पठनपाठनको अवस्थाबारे जानकारी लिनुका साथै छात्राहरूसँगै बसेर भोजन गर्दै उनीहरूको दैनिक अनुभवहरू समेत साटासाट गरे।
यस कार्यक्रममा लोकसभा सांसद इन्द्रहाङ सुब्बा र क्षेत्रीय विधायक एवं पर्यटन तथा नागरिक उड्डयन मन्त्री टीटी भोटियाको पनि उपस्थिति रहेको थियो।
मन्त्री भोटियाले विद्यालयले भोग्नुपरिरहेका विभिन्न चुनौतीहरूबारे राज्यपाललाई अवगत गराएका थिए। यसैगरी, सांसद सुब्बाले पेलिङ हुँदै योकसम-टाशीडिङ-लेगसेप जोड्ने सडकलाई राष्ट्रिय राजमार्गको रूपमा स्तरोन्नति गर्न राज्य सरकारले अघि बढाएको पहलका बारेमा जानकारी दिए। यस विषयमा राज्यपाल माथुरले आफ्नो तर्फबाट आवश्यक सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे।










