काठमाडौं: नेपाली संसारका शताब्दी पुरूष संस्कृतिविद सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरस्थित किष्ट अस्पतालमा उनको निधन भएको परिवारले जानकारी गराएको छl बिहानै अक्सिजनको लेभल एकदमै घटेको जानकारी आएको थियो। परिवारका सदस्य अस्पताल पुग्दा उनको निधन भइसकेको थियो। उनको निधन बिहान सात बजेतिर भएको बताइको छ।
शताब्दी पुरुष जोशीको स्वास्थ्यमा समस्या देखिएपछि २३ सेप्टेम्बरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना गरिएको थियो। किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालबाट श्रद्धाञ्जलीका लागि ललितपुर महानगरको नगर पुलिस र नेपाल पुलिसको स्कर्टिङमा पार्थिव शरीर ललितपुर महानगरको कार्यालयमा पुर्याइएको हो। शताब्दी पुरुष जोशीको पार्थिक शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिए। ललितपुर महानगरपालिका कार्यालय परिसरमा जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको छ। जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रियसभा सदस्य बामदेव गौतम, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारण पुगे।
सन् १९१९ मा पाटनमा जन्मिएका सत्यमोहन जोशीले साहित्य, इतिहास र संस्कृतिको क्षेत्रमा अभूतपूर्व योगदान दिएका छन्। शताब्दी पुरुषको रूपमा प्रसिद्धि पाएका जोशीको उपलब्धता, नाटक, संस्कृति र इतिहास संगीतजस्ता विषयमा ६० भन्दा धेरै पुस्तकहरूको लेखन समावेश छ। उनी ‘शताब्दी पुरुष’को उपाधि साथै मदन पुरस्कारद्वारा सम्मानित भइसकेका हुन्।