२९ मईः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित अण्डर-१४ महकुमा स्तरीय फूटबल लीग २०२२-मा तीनधारेको भेट्रन्स एकाडमी च्याम्पियन भयो। आज लीगको अन्तिम दिन स्थानीय मण्टिभियट खेल मैदानमा दुईवटा म्याच खेलियो। आज भएको दिनको पहिलो म्याचमा भेट्रन्स फूटबल एकाडमी (तीनधारे)-ले मकैबारी फूटबल एकाडमीलाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमबाट मध्यम सुब्बा एक्लैले ह्याट्रिकसहित ५ गोलगरे।

दिनको दोस्रो म्याचमा हिल फूटबल एकाडमीले जेआर३२ फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। यी दुईवटा म्याचपछि भेट्रन्स एफए ४ वटा म्याचमा १२ पोइण्टको साथ शीर्ष स्थानमा रहेर च्याम्पियन बन्यो जबकि उपविजेता रोहिणी एफए ९ पोइण्टको साथ दोस्रो स्थानमा रह्यो। हिल एफए ६ पोइण्टको साथ तेस्रो, जेआर३२ एफए ३ पोइण्टको साथ चौथो र जम्मै म्याच हार्ने मकैबारी एफए चाहिँ पाँचौं स्थानमा रह्यो। विजेता र उपविजेता टीमलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरियो। हिल एफए-का दिव्यांश थामीले ९ गोलको साथ सर्वाधिक स्कोररको पुरस्कार जिते। आजका दुईवटा म्याचमा रेफरीको भूमिकामा नवराज थापा रहेका थिए भने सहयोगीको भूमिका प्रतीक गुरुङ र विशाल राईले निर्वाह गरेका थिए।