बाढी प्रभावित क्षेत्रको निरीक्षण: आगामी २२ मईमा समीक्षा बैठक बस्ने

IMG-20260429-WA0081

गान्तोक: राब्दाङका महकुमा अधिकारी रोशन सुब्बाको अगुवाइमा आज जाङ गाउँको भ्रमण गरी तिन्तेक खोलामा आएको बाढीपछिको स्थितिको मूल्याङ्कन गरिएको छ। गत १५ मईको राति आएको बाढीको वस्तुस्थिति बुझ्न पञ्चायत सदस्य, ग्रेफ र शिवालिक कम्पनीका प्रतिनिधिहरूसहितको टोली प्रभावित क्षेत्र पुगेको हो।
​जिल्ला आपदा प्रबन्धन विभागका अनुसार बाढीका कारण आवासीय घरहरूमा पानी पसेको थियो भने जमिनमा ठूला चिरा परेर सम्पत्तिमा क्षति पुगेको छ। यसअघि नै सम्बन्धित ब्लक विकास अधिकारी र पञ्चायत प्रतिनिधिहरूले पनि उक्त स्थलको निरीक्षण गरिसकेका छन्।
​प्रभावित परिवारलाई तत्काल राहतका रूपमा तिरपाल र अन्य आवश्यक सामग्री सहयोग उपलब्ध गराइसकिएको छ। जोखिमलाई ध्यानमा राख्दै परिवारहरूलाई अस्थायी रूपमा सुरक्षित भाडाको आवासमा सर्न सल्लाह दिइएको छ, जसका लागि शिवालिक कम्पनीले आवश्यक व्यवस्था मिलाउने आश्वासन दिएको छ।
​भ्रमणका क्रममा अधिकारीहरूले प्रभावित बासिन्दा र स्थानीय पञ्चायत प्रतिनिधिहरूसँग सुरक्षा तथा पुनर्स्थापनाका थप उपायहरूबारे छलफल गरेका थिए। जिल्ला प्रशासनले प्रभावित परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसै विषयमा अगाडिको रणनीति तय गर्न आगामी २२ मईका दिन जिल्ला प्रशासनिक केन्द्र, गान्तोकमा प्रभावित बासिन्दा र पञ्चायत प्रतिनिधिहरूसहितको बैठक डाकिएको छ।

About Author

Advertisement