१६ अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-मा सिलगढ़ीको आमुक्त परिवारले क्वार्टर फाइनलमा स्थान बनायो। मंगपू जन मैदानमा आइतवार खेलिएको म्याचमा आमुक्त परिवारले हिमालयन स्पोर्टिंग क्लब (सिक्किम)-लाई १-०-ले पराजित गऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो अनि विजेता टीमले अन्तिम क्षणमा गोल गऱ्यो। म्यानेजर प्रदीप छेत्रीको मार्गदर्शनमा खेल्ने आमुक्त परिवारबाट इसाकले ८५औं मिनटमा गोल गरे। आजको विजेता आमुक्त परिवारले अब १८ अक्टोबरमा खेलिने क्वार्टर फाइनलमा नाइटचेस क्लब (नेपाल)-को चुनौती स्वीकार्नेछ। यसरी नै सोमवार खेलिने म्याचमा ओरगेंग क्लब (डिमाकुची, असम) र दार्जीलिङ पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २२ र २३ अक्टोबरमा खेलिनेछ। यसरी नै फाइनल 30 अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।