याङगाङमा ट्याक्सी चालकहरूको सक्रियता, नशामुक्त भारत अभियान अन्तर्गत जनजागरण शिविर सम्पन्न

IMG-20260429-WA0081

याङगाङ: सिक्किमको याङगाङ बजारमा सोमबार नशामुक्त भारत अभियान अन्तर्गत एकदिने नशामुक्त जनजागरण शिविर भव्यताका साथ सम्पन्न भएको छ। याङगाङ लोकल ट्याक्सी ड्राइभर को-अपरेटिभ सोसाइटी लिमिटेडद्वारा आयोजित उक्त विशेष कार्यक्रम याङगाङका महकुमा अधिकारी केएल दहालको विशेष उपस्थिति तथा निर्देशनमा सञ्चालन गरिएको थियो। कार्यक्रममा समाजलाई नशामुक्त बनाउन र विशेष गरी चालक वर्गमा चेतना फैलाउन विभिन्न क्षेत्रका विशेषज्ञहरूले आफ्ना भनाइहरू राखेका थिए। स्रोत वक्ताका रूपमा उपस्थित याङगाङ खण्ड विकास अधिकारी निडे भोटिया, याङगाङ प्राथमिक स्वास्थ्य केन्द्रकी एमओ आईसी डाक्टर अस्मिता गुरुङ तथा स्थानीय थानाका पुलिस अधिकारीहरूले नशाको चक्र र यसले कानुन, स्वास्थ्य एवं सुरक्षामा पार्ने गम्भीर असरहरूबारे प्रकाश पार्नुभएको थियो।
​शिविरलाई सम्बोधन गर्दै महकुमा अधिकारी केएल दहालले नशामुक्त भारत अभियानको दूरगामी उद्देश्य र यसको महत्वमाथि विशेष जोड दिनुभयो। उहाँले उपस्थित सम्पूर्ण ट्याक्सी चालकहरूलाई नशोजन्य पदार्थबाट टाढा रहँदै समाजमा सकारात्मक चेतना फैलाउने दूतका रूपमा कार्य गर्न आग्रह गर्नुभयो। नशाले एउटा व्यक्तिको जीवन मात्र नभई उसको परिवार र सिङ्गो समाजलाई नै कति नकारात्मक मार्गमा धकेल्छ भन्ने विषयमा उहाँले विस्तृत जानकारी गराउनुभयो। सोही क्रममा ट्याक्सी ड्राइभर को-अपरेटिभ सोसाइटीका सभापति डीके राईले चालक समितिका सदस्यहरूको सामाजिक जिम्मेवारी र उत्तरदायित्वबारे बोल्दै नशामुक्त समाज निर्माणमा सार्वजनिक यातायातका चालकहरूको भूमिका निकै महत्त्वपूर्ण हुने बताउनुभयो। कार्यक्रमको समापनमा सहभागी ट्याक्सी चालकहरूले नशा विरुद्ध सधैँ सचेत रहने र यात्रुहरूलाई सुरक्षित एवं जिम्मेवार सेवा प्रदान गर्ने सामूहिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

About Author

Advertisement