खरसाङ: भारतीय स्टेट ब्यांक अफ् ईण्डियाको नयाँ म्यानेजरको रुपमा शुभजीत शाहले पदभार ग्रहण गरेका छन्। उनी कोलकातामा ईण्डसट्रियल फाइनेन्स शाखामा म्यानेजर पदमा आसिन थिए। उनले खरसाङ शाखाको म्यानेजरको रुपमा गत १५ मई २०२६ देखि पदभार ग्रहण गरेका छन्। उनले आफ्नो कार्य २०१० देखि नै शुरु गरेका थिए।एसबीआई खरसाङ ब्राञ्चमा उनीभन्दा पहिला म्यानेजरको रुपमा हिमांशु शेखर रहेका थिए भने उनी मुम्बई स्थान्तरण भएर गएको जानकारी प्राप्त भएको छ। खरसाङ ब्राञ्चको म्यानेजरको रुपमा पदभार सम्हालेपछि शुभजीत शाहले आफु खरसाङमा आएर खुशी लागेको बताउँदै खरसाङ ब्राञ्च धेरै पुरानो रहेको बताए। उनले यहाँ आएपछि एक वर्षमा बिजिनेस दुई गुणा बढाउने लक्ष्य रहेको पनि बताएका छन्। नयाँ ब्राञ्च म्यानेजर शुभजीत शाहले ब्यांकसित सम्बन्धित जति पनि कामहरु छन् खरसाङका जनतालाई जतिसक्दो सहज तरिकाले सेवा प्रदान गरिने बताए। उनले उपभोक्ताहरुका लागि जतिसक्दो सेवा गर्ने बताउँदै ब्यांकसित सम्बन्धित कुनै पनि असुविधा र असमञ्जसलाई साथै उपभोक्ताहरुको सेवाको लागि खरसाङ शाखामा विगत तीन महिनादेखि सेवा साथी नामक सेवा शुरु गरिएको जानकारी गराएका छन्। उनले सेवा साथी अन्तर्गत दुईजना कर्मचारीले उपभोक्ताहरुलाई ब्यांकिङ्ग सेवामा सहायता गर्ने बताए।










