६४ वर्षपछि पूरै क्याबिनेटले एकैसाथ लियो ऐतिहासिक शपथ
तिरुवनन्तपुरम: कांग्रेस नेता वीडी सतीशन सोमबार केरलमको १३औँ मुख्यमन्त्री बनेका छन्। राजभवनमा आयोजित एक भव्य समारोहका बीच राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले मुख्यमन्त्री सतीशनका साथै उनको पूरै क्याबिनेटका २० जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। केरलमको इतिहासमा विगत ६४ वर्षपछि पहिलो पटक यसरी मुख्यमन्त्री र पूरै क्याबिनेटले एकैसाथ शपथ लिएको हो। यसअघि सन् १९६२ मा राज्यका तेस्रो कांग्रेसी मुख्यमन्त्री आर शङ्करले आफ्नो पूरै क्याबिनेटसँगै शपथ लिएका थिए, तर सन् १९६४ मा अविश्वासको प्रस्ताव पारित भएपछि उनको सरकार ढलेको थियो। यो ऐतिहासिक क्षणको साक्षी बन्न विपक्षी दलका नेता राहुल गान्धी र कांग्रेस नेत्री प्रियंका गान्धी वाड्रा विशेष विमानमार्फत तिरुवनन्तपुरम पुगेका थिए। समारोहमा पूर्व मुख्यमन्त्री पिनराई विजयन, भाजपा नेता राजीव चन्द्रशेखरका साथै कांग्रेस शासित सबै राज्यका मुख्यमन्त्रीहरूको बाक्लो उपस्थिति रहेको थियो।
शपथ ग्रहण समारोह अवधिभर तिरुवनन्तपुरमको अत्यधिक गर्मी र करिब ७७ प्रतिशत उमसका बीच पनि नेता तथा कार्यकर्ताहरूमा निकै उत्साह देखिएको थियो। शपथ लिएलगत्तै मुख्यमन्त्री सतीशनले राहुल गान्धी र पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गेको हात समातेर केरलममा कांग्रेसको सानदार जितको प्रदर्शन गरेका थिए। यस पटकको क्याबिनेटमा १४ जना नयाँ अनुहारले पहिलो पटक मन्त्री पदको शपथ लिएका छन्, जसमा सीपी जोन, एन शमसुद्दीन, केएम शाजी, पीके बशीर, वीई अब्दुल गफूर, पीसी विष्णुनाथ, रोजी एम जोन र बिन्दु कृष्णा जस्ता नेताहरू सामेल छन्। कांग्रेसले सभामुख र उपसभामुख पद पनि आफ्नै पोल्टामा राखेको छ, जसअन्तर्गत तिरुवनंचूर राधाकृष्णनलाई विधानसभा सभामुख र शनिमोल उस्मानलाई उपसभामुख बनाइएको छ। नयाँ विधायकहरूको शपथ ग्रहणपछि आगामी २२ मईमा सभामुखको निर्वाचन हुनेछ भने २९ मईमा राज्यपालको नीतिगत सम्बोधन र ५ जूनसम्म राज्यको नयाँ बजेट प्रस्तुत गरिने कार्यतालिका छ।
मुख्यमन्त्रीको कार्यभार सम्हालेलगत्तै सतीशनले क्याबिनेटको पहिलो बैठक डाकेर जनताका पक्षमा ५ वटा ठुला र महत्त्वपूर्ण निर्णयहरू गरेका छन्। नयाँ सरकारको निर्णय अनुसार आगामी १५ जूनदेखि महिलाहरूले केएसआरटीसी का बसहरूमा नि:शुल्क यात्रा गर्न पाउनेछन्। यसैगरी राज्यका ज्येष्ठ नागरिकहरूका लागि एउटा छुट्टै विशेष विभाग गठन गर्ने घोषणा गरिएको छ भने आशा कार्यकर्ताहरूको पारिश्रमिकमा ३,००० रुपैयाँ वृद्धि गरिएको छ। क्याबिनेटले सन् २०२३ को ‘नव केरल यात्रा’ का क्रममा युवा कांग्रेसका नेताहरूमाथि भएको आक्रमणको निष्पक्ष छानबिनका लागि एउटा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गर्ने निर्णय गर्नुका साथै राज्यको वर्तमान फितलो आर्थिक अवस्था र राजसोशका बारेमा छिट्टै ‘श्वेतपत्र’ जारी गर्ने प्रस्ताव पारित गरेको छ।
यसअघि केरलममा नयाँ सरकार गठन र मुख्यमन्त्रीको अनुहारलाई लिएर करिब १० दिनसम्म तीव्र राजनीतिक खिचातानी र सस्पेन्स बनेको थियो। गत ४ मईमा सार्वजनिक भएको चुनावी नतिजामा यूडीएफ गठबन्धनले १४० सिटमध्ये १०२ सिटमा सानदार जित निकाल्दै स्पष्ट बहुमत हासिल गरेको थियो। मुख्यमन्त्रीको दौडमा वीडी सतीशन, केसी वेणुगोपाल र रमेश चेन्नीथला रहेका थिए। राहुल गान्धीको पहिलो रोजाइमा वेणुगोपाल भए पनि केरलमका स्थानीय कांग्रेस कार्यकर्ता र गठबन्धनका साझेदार दलहरू आईयूएमएल र केरलम कांग्रेस (जोसेफ) सतीशनको नाममा अडिएका थिए। व्यापक छलफल र संसदीय दलको आन्तरिक मन्थनपछि गत १४ मईमा पार्टीले सतीशनलाई मुख्यमन्त्री बनाउने औपचारिक निर्णय गरेको थियो, जसको परिणामस्वरूप आज केरलममा नयाँ कांग्रेसी युगको सुरुवात भएको छ।









