गान्ताेक: बैडमिंटन एसोसिएशन ऑफ सिक्किम (बस)को ३५औँ वार्षिक साधारण सभा आइतबारमा गान्ताेकको देओरालीस्थित होटल रामाडामा सफलतापूर्वक सम्पन्न भएको छ।
सभामा पदाधिकारी, आजीवन सदस्य, सम्बद्ध जिल्ला संघ तथा आमन्त्रित विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात उपाध्यक्ष महेंद्र चेत्री ले स्वागत मन्तव्य राखेर गरेका थिए। त्यसपछि अध्यक्ष जेकोब खालिङ ले वर्ष २०२५–२०२६ मा राज्यमा ब्याडमिन्टन खेलको उल्लेखनीय प्रगति तथा उपलब्धिहरूको समीक्षा प्रस्तुत गरे।
महासचिव सुकान्त दास ले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष कर्म भुटिया ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। विस्तृत छलफलपछि दुवै प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरियो।
सभामा खेल पूर्वाधार विकास, खेलाडी कल्याण, आधारभूत स्तरका कार्यक्रम, प्रतियोगिता व्यवस्थापन तथा जिल्ला इकाइ सुदृढीकरणलगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकको प्रमुख आकर्षणका रूपमा आगामी नोभेम्बर २०२६ मा सिक्किममा राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुने विषयमा छलफल भयो। सबै सदस्यहरूले यस घोषणालाई उत्साहपूर्वक स्वागत गर्दै सफल आयोजनाका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरे।
सभामा अखिल भारतीय ब्याडमिन्टन संघका अध्यक्ष तथा असमका मुख्यमन्त्री हिमन्त बिस्वा सरमा र महासचिव सञ्जय मिश्रा द्वारा सिक्किमलाई पहिलो पटक राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने अवसर प्रदान गरिएकोप्रति आभार व्यक्त गरिएको थियो।
बैठकमा दर्ता नवीकरण, प्रशासनिक समन्वय सुदृढीकरण तथा राज्य र राष्ट्रिय स्तरका र्याङ्किङ प्रतियोगितामा सहभागिता बढाउने विषयमा पनि छलफल भएको थियो।

संघले सिक्किमका मुख्यमन्त्री तथा मुख्य संरक्षकप्रति मार्गदर्शन र निरन्तर सहयोगका लागि आभार व्यक्त गरेको छ। साथै खेल तथा युवा मामिला मन्त्री राजु बस्नेत तथा विभागप्रति पनि धन्यवाद व्यक्त गरिएको छ।
अन्त्यमा कैलाश थापाले धन्यवाद ज्ञापन गर्दै बैठक सम्पन्न भएको घोषणा गरे। सबै सदस्यहरूले आगामी दिनमा सिक्किममा ब्याडमिन्टन खेललाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।










