भारत र युएईबीच ऊर्जा सुरक्षामा ऐतिहासिक समझदारी, एलपीजी आपूर्तिका लागि सम्झौता

1778860739079_pm_modi_uae_visit

दुबई: प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणका क्रममा भारत र युएईबीच ऊर्जा, रक्षा र लगानीसहित पाँचवटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। करिब १८० मिनेटको संक्षिप्त तर कुटनैतिक रूपमा अत्यन्त फलदायी भ्रमणका क्रममा दुवै देशबीच तरल पेट्रोलियम ग्यास (एलपीजी) आपूर्तिका लागि ऐतिहासिक सम्झौता भएको हो। यसका साथै युएईले भारतीय पूर्वाधार, आरबीएल बैंक र सम्मान क्यापिटलमा ५ अर्ब डलर लगानी गर्ने घोषणा समेत गरेको छ।
​अबूधाबी पुग्दा प्रधानमन्त्री मोदीलाई युएई वायुसेनाका एफ–१६ फाइटर जेटहरूले स्कर्टिङ गर्दै विशेष सम्मान दिएका थिए। राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँगको द्विपक्षीय वार्तामा मोदीले युएईलाई आफ्नो ‘दोस्रो घर’ भन्दै पछिल्लो समय भारतमा आएको प्राकृतिक विपत्तिप्रति संवेदना प्रकट गरेकोमा आभार व्यक्त गर्नुभयो। वार्ताका क्रममा दुवै नेताले ऊर्जा सुरक्षा, रणनीतिक पेट्रोलियम भण्डारण र पश्चिम एसियामा जारी तनावका विषयमा गहन छलफल गरेका छन्। मोदीले होर्मुज स्ट्रेटलाई खुला र सुरक्षित राख्नु विश्व अर्थतन्त्रका लागि अनिवार्य रहेको उल्लेख गर्दै कुनै पनि प्रकारको आक्रमण स्वीकार्य नहुने स्पष्ट पार्नुभयो।
​भ्रमणका क्रममा रक्षा सहयोग र वडिनारमा ‘शिप रिपेयर क्लस्टर’ निर्माण गर्ने सम्बन्धी समझदारी पत्र (एमओयू) मा पनि हस्ताक्षर भएको छ। युएईले सन् २०२७ सम्ममा आफ्नो कच्चा तेलको उत्पादन प्रतिदिन ५० लाख ब्यारेल पुर्‍याउने लक्ष्य राखेको सन्दर्भमा यो भ्रमणलाई भारतीय ऊर्जा बजारका लागि कोसेढुङ्गा मानिएको छ। युएईको भ्रमण सकेर प्रधानमन्त्री मोदी तीन दिने भ्रमणका लागि शुक्रबार नै नेदरल्याण्डतर्फ प्रस्थान गर्नुभएको छ।

About Author

Advertisement