सिलगढी: सिलगढी विभागको घोषपुकुर वन विभागका कर्मचारीहरूले नक्सलबारीको सातभैया क्षेत्रमा दुई ट्रकबाट ठूलो परिमाणमा बर्मा सागौन काठ बरामद गरेका छन्। यस घटनामा ट्रकका सहचालकलाई नियन्त्रणमा लिइएको छ। दुई ट्रकमा बरामद गरिएको बर्मा सागौन काठको मूल्य करिब डेढ करोड रुपियाँ रहेको वन विभाग स्रोतले जनाएको छ। यी काठहरू मणिपुरको इम्फालबाट कोलकातामा तस्करी भइरहेको थियो। घोषपुकुर वन विभागले सम्पूर्ण घटनाको अनुसन्धान थालेको छ भने पक्राउ परेका अभियुक्तलाई सोधपुछ गरी थप जानकारी लिन प्रहरीले प्रयास गरिरहेको छ।