पश्चिम बंगालमा ‘डबल इन्जिन’ सरकारको प्रभाव: तीन ठूला परियोजना स्वीकृत

train

कोलकाता: पश्चिम बंगालमा सत्ता परिवर्तन भएसँगै केन्द्र सरकारले राज्यको विकासका लागि विशेष चासो देखाउन थालेको छ। मुख्यमन्त्रीका रूपमा सुवेन्दु अधिकारीले कार्यभार सम्हालेलगत्तै केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवमाले बंगालका लागि तीनवटा नयाँ रेल परियोजनाहरूलाई स्वीकृति प्रदान गर्नुभएको छ। मन्त्री वैष्णवले मुख्यमन्त्री अधिकारीलाई पत्र लेख्दै लामो समयदेखि थन्किएका र नयाँ रेल सञ्जाल विस्तारका कार्यहरू तत्काल अघि बढ्ने जानकारी दिनुभएको हो।
​पहिलो परियोजना अन्तर्गत १०७ किलोमिटर लामो शालबनी–आद्रा तेस्रो रेल लाइनका लागि अन्तिम लोकेसन सर्भे र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अनुमति दिइएको छ। यसैगरी, उत्तर बंगालको लाइफलाइन मानिने न्यु जलपाईगुडीदेखि सिलिगुडी जंक्सनबीचको ७.१५ किलोमिटर रेल खण्डलाई दोहोरोकरण गर्ने कार्य पनि स्वीकृत भएको छ। तेस्रो महत्त्वपूर्ण घोषणाका रूपमा कोलकाताको सन्त्रागाछीदेखि जयपुरको खातीपुरासम्म नयाँ एक्सप्रेस रेल सञ्चालन गरिने भएको छ।
​राज्यमा पहिलो पटक भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा सरकार बनेपछि केन्द्र र राज्यबीचको समन्वयमा तीव्रता आएको देखिन्छ। यसअघिको तृणमूल कांग्रेस सरकारका पालामा केन्द्रसँगको टकरावका कारण कतिपय महत्त्वपूर्ण आयोजनाहरू रोकिएका थिए। मुख्यमन्त्री अधिकारीले अब बंगालमा विकासको गति बढ्ने र केन्द्र सरकारका जनमुखी योजनाहरू सिधै सर्वसाधारणसम्म पुग्ने प्रतिबद्धता जनाउनुभएको छ। रेल सञ्जालको यो विस्तारले विशेषगरी उत्तर र दक्षिण बंगालको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

About Author

Advertisement