गान्तोक: आसाम लिङ्जे ग्राम पञ्चायतका निर्वाचित जिल्ला पञ्चायत र सबै वार्ड पञ्चायतगणलाई आसाम लिङ्जेका नागरिक समाज साथै सम्पूर्ण स्वयं सहायता समूहहरुको तत्वावधानमा आज एक कार्यक्रमबीच अभिनन्दन जनाइयो। अभिनन्दित जिल्ला अनि वार्ड पञ्चायतहरूमा क्रमैले सेभेरिन राई (जिल्ला पञ्चायत सदस्य), गणेश छेत्री (पञ्चायत सभापति), मिना सुब्बा (पञ्चायत उपसभापति), दावा भोटिया (पञ्चायत सदस्य), नरेन्द्र राई (पञ्चायत सदस्य) र सुक माया विश्वकर्मा (पञ्चायत सदस्य) सामेल छन्। कार्यक्रममा मुख्य अतिथि गान्जा भोटियाले आफ्नो अध्यक्षीय सम्बोधनमा निवर्तमान पञ्चायतहरुलाई आफ्नो कुशल कार्यकालको निम्ति बधाई दिए। उनले अब आउने नयाँ पञ्चायतहरुलाई मार्गदर्शन गर्न आग्रह गरे ताकि गाउँको उन्नतिमा निरन्तरता रहिरहोस्।कार्यक्रममा जेपी राईले आफ्नो सम्बोधनमा भने, यो कार्यक्रम तपाईंहरुलाई बिदा दिन होइन, तर तपाईंहरुको समाज र यो पञ्चायत एकाईप्रति अझ धेरै जिम्मेवारी बढेको बोध गराउने प्रयाश हो। यसर्थ, तपाईंहरुको कार्यकाल यो गाउँप्रति अझ सकिएको छैन। पूर्व पञ्चायतहरु कसैले पनि आफ्नो जिम्मेवारीलाई परित्याग गरेर गाउँको विकासको निम्ति आँखा चिम्लेर बसेनन्। यसकारण गाउँमा धेरै उन्नति भएको छ।यसै गरी, निवर्तमान पञ्चायत सभापति गणेश छेत्रीले आफ्नो सम्बोधनमा आफुले पहिले जिल्ला र पछि ग्राम पञ्चायत भएर काम गरेको बताए। यस क्रममा आफ्ना अनुभवहरूलाई पनि कार्यान्वित गर्दै लगेको हुनाले हामीले राम्रै काम गरेको हुनुपर्छ भन्ने उनले मन्तव्य राखे।कार्यक्रममा प्रगति, नव-निर्माण, दिव्यज्योती, एकता, न्यू स्टार, सनसाइन र साईपत्री स्वयं सहायता समूहका सदस्यहरु पनि उपस्थित थिए।