भारत–बंगलादेश सीमा विवाद: पश्चिम बंगालको निर्णय र बंगलादेशको कडा चेतावनी

GQindia-Border

काेलकाता: ​पश्चिम बंगालमा शुभेंदु अधिकारीको नेतृत्वमा गठित नयाँ सरकारले आफ्नो पहिलो क्याबिनेट बैठकबाटै भारत–बंगलादेश सीमामा काँडेतार लगाउनका लागि सीमा सुरक्षा बल (बीएसएफ) लाई जग्गा उपलब्ध गराउने ठूलो निर्णय गरेको छ। यस कदमले दुई देशबीचको कूटनीतिक माहोल तताएको छ। उक्त निर्णयको प्रतिवाद गर्दै बंगलादेशका प्रधानमन्त्रीका सल्लाहकार हुमायूँ कबीरले बंगलादेश यस्ता काँडेतार र सुरक्षा घेराबाट नडराउने स्पष्ट पार्नुभएको छ। उहाँले सीमा समस्याको समाधान सैन्य बल वा अवरोध भन्दा पनि मानवीय दृष्टिकोण र आपसी वार्ताबाट खोजिनुपर्नेमा जोड दिनुभएको छ।
​बंगलादेशले पश्चिम बंगालका मुख्यमन्त्री शुभेंदु अधिकारीको चुनावी एजेन्डा र वास्तविक शासन पद्धतिको आलोचना गर्दै सीमामा हुने कुनै पनि प्रकारका हत्या वा ‘पुश–ब्याक’ (जबरजस्ती फिर्ता पठाउने) कार्य स्वीकार्य नहुने चेतावनी दिएको छ। यदि त्यस्ता घटनाहरू बढेमा बंगलादेश चुप नबस्ने र उचित जवाफ दिने विदेश मन्त्रालयले जनाएको छ। हालको तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै बंगलादेशले आफ्नो सीमा सुरक्षा बल (बीजीबी) लाई उच्च सतर्कता (हाई अलर्ट) मा राखेको छ, जसले गर्दा सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा बनेको छ।

About Author

Advertisement