शुभेन्दु अधिकारीका पीएको हत्यामा संलग्न ५ जना पक्राउ, उत्तर प्रदेश र बिहारबाट समातिए सुटर ​

6a017447c2e95-chandranath-rath-murder-case-111632105-16x9

काेलकाता: ​पश्चिम बंगालका विधानसभा विपक्षी दलका नेता(अब मुख्यमंत्री) शुभेन्दु अधिकारीका स्वकीय सचिव (पीए) चन्द्रनाथ रथको हत्यामा संलग्न पाँच जनालाई पुलिसले पक्राउ गरेको छ। हत्यामा संलग्न तीनजना मुख्य ‘सार्प सुटर’ सहित अन्य दुई सहयोगीलाई पुलिसको विशेष अनुसन्धान टोली (एसआईटी) ले उत्तर प्रदेश र बिहारबाट नियन्त्रणमा लिएको हो।​ गत मे ६ काे राति चन्द्रनाथको बीच सडकमा गोली हानी हत्या गरिएको थियो। पुलिस स्रोतका अनुसार अपराधीहरूले प्रयोग गरेको गाडीमा टाँसिएको ‘फास्ट्याग’ र १०० भन्दा बढी सीसीटीभी क्यामेराको फुटेज विश्लेषण गरेपछि पुलिस उनीहरूसम्म पुग्न सफल भएको हो। निवेदिता सेतु र डानकुनी टोल प्लाजाबाट गरिएको डिजिटल भुक्तानीको विवरणले अनुसन्धानमा नयाँ मोड ल्याएको थियो।​पक्राउ पर्ने मुख्य सुटरमा उत्तर प्रदेशको बलिया निवासी राज सिंह रहेका छन्। उनले चन्द्रनाथमाथि पहिलो गोली प्रहार गरेका थिए। हत्यापछि उनी अयोध्यामा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन्। अर्का आरोपी विशालले दिएको सूचनाको आधारमा प्रहरी उनलाई समात्न सफल भएको हो। यस्तै, बिहारको बक्सरबाट मयंक मिश्रा र विक्की मौर्यलाई पनि पक्राउ गरिएको छ। मयंक बिहारको कुख्यात ‘चन्दन मिश्रा ग्याङ’ का सदस्य रहेको खुलेको छ।​ एसआईटीले घटना लगत्तै हत्यामा बाहिरी राज्यका अपराधी संलग्न रहेको आशंका गर्दै टोली परिचालन गरेको थियो। हाल पुलिसले हत्याको मुख्य योजनाकार (मास्टरमाइन्ड) र सुपारी दिने व्यक्तिको खोजी गरिरहेको छ। चन्द्रनाथको हत्याको वास्तविक उद्देश्य के थियो र यसमा अरू कसको संलग्नता छ भन्नेबारे अनुसन्धान जारी रहेको पुलिसले जनाएको छ।

About Author

Advertisement