बेंगलुरु: बेंगलुरुमा आइतबार आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रमस्थल नजिकै विष्फोटक पदार्थ फेला परेपछि सुरक्षा निकायमा हल्लीखल्ली मच्चिएको छ। प्रधानमन्त्री मोदी सहभागी रहेको मुख्य कार्यक्रमस्थलबाट करिब ३ किलोमिटरको दूरीमा फुटपाथको किनारमा दुईवटा जिलेटिन स्टिक फेला परेका हुन्।प्रधानमन्त्री मोदी आइतबार बेंगलुरुमा ‘आर्ट अफ लिभिङ’ को ४५औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन र ‘ध्यान मन्दिर’को उद्घाटन गर्न त्यहाँ पुगेका थिए। सुरक्षा जाँचका क्रममा विष्फोटक बनाउन प्रयोग गरिने जिलेटिन फेला परेपछि सुरक्षा एजेन्सीहरू र स्थानीय प्रहरीले तुरुन्तै उक्त क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका थिए।समारोहमा आर्ट अफ लिभिङका प्रमुख श्रीश्री रविशंकर सहित देश-विदेशका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले यस मामिलामा एक संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको छ। विष्फोटक पदार्थ कसले र कुन उद्देश्यले त्यहाँ राख्यो भन्नेबारे गहन अनुसन्धान भइरहेको छ। भारतमा जिलेटिनको प्रयोग र भण्डारणका लागि कडा कानुनी प्रावधान र अनुमति आवश्यक पर्दछ।








