सिलगढी। आज सिलगढीमा विश्वको सर्वोच्च पर्वत सगरमाथामा पहिलोपल्ट पुग्ने पार्वतारोही तेञ्जिङ नोर्गे शेर्पाको १०८ औँ जन्म जयन्ती तथा ६९ औँ अन्तराष्ट्रिय एभरेष्ट दिवस पालन गरियो। सिलगढी नगरनिगमका मेयर गौतम देवले फुलमाला चढाएर तेञ्जिङ नोर्गेलाई श्रद्धा सुमन अर्पण गरे। न्याफको पहलमा तथा सिलगढी नगरनिगमको सहयोगमा सिलगढीको दार्जीलिङ मोडस्थित तेञ्जिङ नोर्गेको सालिग नजिक एउटा कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा नगरनिगमका कमिश्नर सोनम वाङ्ग्दी भुटिया, मेयर परिषद शोभा सुब्बा, १ र ४ नम्बर बोरो चेयरम्यान गार्गी च्याटर्जी, जयन्त साहा र न्याफ-का सदस्यहरूले तेञ्जिङ नोर्गेको सालिगमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा मेयर देवले पर्वतारोही तेञ्जिङ नोर्गेलाई मरणोपरान्त भारत रत्न पुरस्कारले चाँडै सम्मानित गरियोस् भनी बताए।