सिलगढी: शब्द समय सालबारीको आयोजनामा शनिबार स्थानीय गोम्देन टी बारमा हालै दिवङ्गत भएका सालबारीका समाजसेवी होमियोपेथी डा होमबहादुर छेत्री अनि नेपाली साहित्यका सुपरिचित कथाकार गुप्त प्रधानको आकस्मिक निधनमा शोक सभाको आयोजना गरिएको थियो। प्रथममा शब्द समयका अभिभावक साहित्यकार नरबहादुर दाहालद्वारा दिवङ्गत विभूतिहरूको तस्वीरअघि दीयो बालेर श्रद्धा सुमन चढ़ाए। त्यसपछि उपस्थित साहित्यकारहरूले खदा तथा पुष्पार्पण गरे। कवि-कथाकार ज्ञानेन्द्र खतिवड़ा अनि कवि हेमन्त काफ्लेको प्रयासमा आयोजित यो शोक सभामा साहित्यकार खतिवड़ाले डा. होमबहादुर छेत्रीको योगदान र उनको समाज सेवाका कुराहरू राखे। उनले डा. होमबहादुरले जातिको निम्ति गरेका कार्यहरूको पनि उल्लेख गरे। उनले भने, ‘डा. होमबहादुर छेत्री रोगीको उपाचार गर्ने डाक्टर मात्र थिएनन्, तर भाषा र जातिको निम्ति मरिमेट्ने व्यक्ति थिए। उनले बाइबलको अनुवादसमेत गरेका छन्l’

उसै गरी उनले प्रसिद्ध कथाकार गुप्त प्रधानले नेपाली साहित्यमा कथा र अन्वेषणको क्षेत्रमा गरेका महत्त्वपूर्ण कार्यहरूको उल्लेख गरे। उनले त्यसपछि आफ्ना उद्गारहरू राखिदिनका निम्ति वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई निवेदन गरे। साहित्यकार दाहालले डा. होमबहादुर छेत्री अनि कथाकार गुप्त प्रधानसितको आफ्नो सम्बन्धबारे बताउँदै उनीहरूका योगदानको चर्चा गरे। उनीहरूसितका रोचक संस्मणहरू पनि साहित्यकार दाहाल बताइरहेका थिए। यस अवसरमा वरिष्ठ कवि मोहन ठकुरीले कथाकार गुप्त प्रधानसित उनको सान्निध्यको उल्लेख गरे। कवि ठकुरीले उनीसित लिएका एक अन्तर्वार्ताका कुराहरू साझा गरिरहेका थिए। युग्मककार कालूसिंह रनपहेंलीले यस अवसरमा केही यग्मकहरू सुनाए। उनले दिवङ्गत दुई विभूतिहरूसितको सम्बन्धबारे पनि कुराहरू राखे। युग्मकारले कथाकार गुप्त प्रधानलाई आफ्नो कथा लेखनको गुरु पनि ठानेका जनाए। उनले गुप्त प्रधानको बाल मनोविज्ञानमा आधारित प्रसिद्ध कथा द्वन्द्व पठन गरेर सुनाए। साहित्यकार-चित्रकार सुवास छेत्रीले कथाकार गुप्त प्रधानको परिचयसित उनका कृति कर्महरूको लेखाजोखा गरिरहेका थिए। यस अवसरमा उपस्थित बन्न आइपुगेका लेखक शमीक चक्रवर्ती जसले विमल लामाले बङ्गलामा लेखेका उपन्यास कृति ‘नुन-चा’-लाई नेपालीमा ‘नुनको चिया’ भनेर अनुवाद गरेका छन् उनले पनि गुप्त प्रधानबारे कुराहरू राखिरहेका थिए। उनीसित आएका सर्जक सुमेन्द्र तामङले पनि यस अवसरमा कुराहरू राखे। वरिष्ठ कवि ज्ञानेन्द्र खतिवडाको सञ्चालनमा कार्यक्रमको अन्त्यमा उपस्थित सबै साहित्यकार तथा अक्षरप्रेमीहरूद्वारा दुई मिनटको मौन धारण गरेर दिवङ्गत दुई विभूतिहरूको आत्मसान्तिको प्रार्थना गर्दै श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा विशिष्ट कवि-कथाकार भविलाल लामिछाने, साहित्यकार डी.एस.बमजन, कवि लीलबहादुर सुनार, कथाकार-अनुवादक जीतबहादुर सुनार, कवि हेमन्त काफ्ले, समाजसेवी पूर्ण मगर, चिया उद्योगबाट सेवा निवृत्त अघिकारी अरूण गोमदेन अनि ललित कुमार सोताङ, अवकाशप्राप्त अभियन्ता पूरण प्रधान, केफे द दट्वीन्सकी लेखा राई, गोम्देन टीबारका स्वामी अनन्त गोमदेन आदिको विशेष उपस्थिति रहेको थियो।