गान्तोक: सिक्किमका डा. केशरकुमार लुइटेलले तमिलनाडुको पेरियार विश्वविद्यालयसँग सम्बन्धित सेलम सरकारी कला महाविद्यालयको भूगर्भशास्त्र विभागबाट सफलतापूर्वक विद्यावारिधि उपाधि हासिल गरेका छन्। यस उपलब्धिसँगै उनी पूर्वी हिमालय क्षेत्रमा पहिरो तथा भूधँसाइसम्बन्धी अनुसन्धानमार्फत पृथ्वी विज्ञान विषयमा विद्यावारिधि प्राप्त गर्ने सिक्किमका पहिलो अनुसन्धानकर्ता बनेका छन्।
उनको शोधप्रबन्धको शीर्षक “पूर्वी हिमालय क्षेत्र, गान्तोक, पूर्व सिक्किम, भारतमा भूगर्भीय, भू-प्राविधिक तथा भू-भौतिकीय विधिबाट पहिरो तथा भूधँसाइ क्षेत्रमा चिप्लिने सतहको अनुमानसम्बन्धी एकीकृत अध्ययन” रहेको थियो। उक्त अनुसन्धानमा पूर्व सिक्किमका पहिरो र अस्थिर भूभागका कारणहरूको अध्ययन गरिएको छ। अनुसन्धानका क्रममा भूगर्भीय अवलोकन, माटो परीक्षण तथा भू-भौतिकीय विधिहरू प्रयोग गरी जोखिमयुक्त क्षेत्रहरूको पहिचान तथा पहिरो पूर्वानुमान सुधार गर्ने प्रयास गरिएको थियो।
सार्वजनिक मौखिक परीक्षा ८ मई २०२६ मा सेलम सरकारी कला महाविद्यालयमा सम्पन्न भएको थियो। परीक्षकहरूले उक्त अनुसन्धानलाई विपद् व्यवस्थापन तथा पहाडी क्षेत्रको सुरक्षित विकासका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताएका थिए।
बाह्य परीक्षकका रूपमा पुदुचेरी विश्वविद्यालयको पृथ्वी विज्ञान विभागका प्राध्यापक तथा विभागाध्यक्ष डा. के. श्रीनिवासमूर्ति रहेका थिए। उक्त अनुसन्धान सेलम सरकारी कला महाविद्यालयको भूगर्भशास्त्र विभागका सह-प्राध्यापक तथा अनुसन्धान निर्देशक डा. भी. थिरुकुमारनको मार्गदर्शनमा सम्पन्न भएको हो।
अनुसन्धानले उचित अनुगमन, वैज्ञानिक अध्ययन तथा आधुनिक प्रविधिको प्रयोगको महत्वलाई विशेष रूपमा उजागर गरेको छ। विद्युतीय प्रतिरोधकता प्रतिचित्रण, भू-भेदी राडार तथा भौगोलिक सूचना प्रणालीजस्ता आधुनिक प्रविधिसँगै स्थानीय भूगर्भ र भू-प्राविधिक मापदण्डको अध्ययनले भू-स्खलन प्रक्रियालाई अझ स्पष्ट रूपमा बुझ्न तथा हिमालय क्षेत्रमा पहिरो जोखिम न्यूनीकरण र उपयुक्त प्रतिरोधात्मक योजना बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।
डा. लुइटेलको उपलब्धिलाई सिक्किम तथा पृथ्वी विज्ञान क्षेत्रका लागि गर्वको विषय मानिएको छ। उनको अनुसन्धानले भविष्यका अध्ययन, विपद् व्यवस्थापन योजना तथा पहाडी क्षेत्रको वातावरणीय सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
डा. लुइटेलले आफ्नो अनुसन्धान यात्राभर सहयोग गर्ने अनुसन्धान निर्देशक, शिक्षक, सहकर्मी, परिवारका सदस्य तथा सबै शुभेच्छुकप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। साथै विभागमा सेवा गर्दै विद्यावारिधि अध्ययन गर्ने अवसर तथा सहयोग उपलब्ध गराएकोमा उनले सिक्किम सरकारप्रति पनि विशेष आभार व्यक्त गरेका छन्।











