श्रम संस्कृति पार्टी–सुदन किराती समूहबीच एकता, वैकल्पिक राजनीतिमा नयाँ बहस

IMG-20260508-WA0058

भद्रपुर(देवेन्द्र के ढुङगाना): हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र सुदन किराती निकट समूहबीच राजनीतिक एकताको सहमति भएको छ। सम्पन्न द्विपक्षीय वार्तापछि दुवै पक्ष एकताका लागि सहमत भएका हुन्।
किराती निकट स्रोतका अनुसार एकतापछि सुदन किरातीलाई पार्टीमा वरिष्ठ नेताको भूमिकामा राख्ने समझदारी बनेको छ। साथै, उनी निकट केही नेताहरूको समेत उचित व्यवस्थापन गर्ने विषयमा सहमति जुटाइएको बताइएको छ। दुवै पक्षले आजै राजधानी काठमाडौंमा संयुक्त कार्यक्रममार्फत औपचारिक रूपमा एकताको घोषणा गरेका छन्।
पूर्व माओवादी नेता किराती पछिल्लो निर्वाचनअघि प्रगतिशील लोकतान्त्रिक पार्टीसँग आबद्ध भएका थिए। तर, पछिल्लो समय उनले उक्त पार्टी परित्याग गर्दै नयाँ राजनीतिक सहकार्यको खोजीमा रहेका थिए।
वैकल्पिक राजनीतिक शक्तिका रूपमा श्रम संस्कृति पार्टी:
धरानका पूर्ब मेयर हर्क साम्पाङले श्रम, पारदर्शिता र जनसहभागितालाई केन्द्रमा राखेर अघि बढाएको अभियानबाट उदाएको श्रम संस्कृति पार्टी पछिल्लो समय नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रूपमा चर्चामा आएको छ। परम्परागत दलप्रति बढ्दो असन्तुष्टिका बीच श्रम, स्वावलम्बन र प्रत्यक्ष जनसहभागिताको एजेन्डाले विशेषगरी युवापुस्तामाझ आकर्षण बढाएको देखिन्छ।
विश्लेषकहरूका अनुसार सुदन किरातीजस्ता पूर्व स्थापित राजनीतिक व्यक्तित्वको आगमनले पार्टीलाई राष्ट्रिय राजनीतिक बहसमा थप बल पुग्न सक्ने अनुमान गरिएको छ। यद्यपि, संगठन विस्तार, स्पष्ट वैचारिक दिशा र राष्ट्रिय तहमा प्रभाव विस्तार गर्नु पार्टीका लागि मुख्य चुनौतीका रूपमा रहने देखिन्छ।
श्रम संस्कृति पार्टी र किराती समूहबीचको यो एकतालाई आगामी राजनीतिक समीकरण र वैकल्पिक शक्ति निर्माणको प्रयासका रूपमा समेत हेरिएको छ।

About Author

Advertisement