यो जीत भाजपाको मात्र होइन तर आम जनताको जीत हो र भ्रष्टाचारको विरोधमा जनताले दिएको बहुमतको जीत हो: सञ्जीव लामा
दार्जिलिङ: भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले आज दार्जिलिङमा पत्रकार सम्मेलन आयोजना गरेर यसपाली जनताले आफ्नो भोट दिएर भारतीय जनता पार्टीलाई बिजय बनाएकोमा आभार प्रकट गरेका छन्। उनले दार्जिलिङ भाजपा कार्यालयमा पत्रकारहरुलाई सम्बोधन गर्दै यो जीत भाजपाको मात्र होइन तर आम जनताको जीत हो र भ्रष्टाचारको विरोधमा जनताले दिएको बहुमतको जीत भनी बताएका छन्। उनले भाजपाको नेतृत्वहरुलाई स्वीकार गर्दै जनताले परिवर्तन ल्याएकोमा अब भाजपाको शासनमा जनताको आकांक्षा पूरा हुने बताएका छन्। भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले भने, अब गोर्खा जातिले न्याय पाउनेछ। लथालिङ्ग भएको व्यवस्था परिवर्तन हुनेछ। बुनियादी विकासको कार्यहरुमा पनि जनताले न्याय पाउनेछ।’
लामाले बंगालमा भाजपा विधायक शुभेन्दु अधिकारीको पीएको हत्याको कठोर शब्दमा निन्दा गरेका छन्। उनले यस घटनाप्रति घोर भर्त्सना गरेका छन्। यस पत्रकार सम्मेलनमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समितिको तर्फबाट विशेष गरी दार्जिलिङ पहाड र समग्र पश्चिम बंगालमा पछिल्लो समय विकसित भइरहेको राजनीतिक अवस्थाबारे उनीहरूले आफ्नो धारणा राखेका छन्। पत्रकार सम्मेलनमा भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले विपक्षी नेताहरूले दिएको अभिव्यक्तिको कडा शब्दमा निन्दा गरेका छन्। यसको साथै सामाजिक सञ्जालमा भाइरल भइरहेको जीटीए अध्यक्ष अनित थापा र राज्यसभा सांसद हर्षवर्धन शृङ्गलाको पुरानो तथा भ्रामक तस्वीरप्रति पनि आपत्ति जनाएका छन्। जिल्ला समितिका अध्यक्ष सञ्जीव लामाले लालकोठी घेराउ भाजपाको नभएर पूर्ण रूपमा गोजमुमो पार्टीको पहल भएको स्पष्ट पारे। उनले पश्चिम बंगालका विभिन्न स्थानमा भएका केही हिंसात्मक घटनाहरूको पनि निन्दा गर्दै भाजपा सधैं शान्ति र अहिंसामा विश्वास गर्ने पार्टी भएको बताए।









