क्रामाकपाद्वारा विधायकलाई सम्मान
दार्जिलिङ: दार्जिलिङका नव निर्वाचित भाजपा विधायक नोमन राईलाई आज क्रामाकपा केन्द्रीय मुख्यालयमा भव्य स्वागत जनाइयो। स्वागत कार्यक्रममा परामर्श समितिका चेयरम्यान एवं पूर्व सांसद आरबी राईले विधायक नोमन राईलाई खदा एवं मिठाई खुवाएर स्वागत जनाए। यस अवसरमा दार्जिलिङका नयाँ विधायक नोमन राईलाई क्रामाकपाको तर्फबाट सम्वर्ध्दना पनि जनाइएको छ। आजको कार्यक्रममा क्रामाकपा महासचिव नर्बु लामा, क्रामाकपा परामर्श समितिका चेयरम्यान आरबी राई, नवनिर्वाचित विधायक नोमन राईले आफ्नो सम्बोधन राखेका थिए। आजको कार्यक्रममा कार्यकारी अध्यक्ष बीएम राई, केन्द्रीय सदस्य बले डुक्पा, केन्द्रीय सदस्य डीआर राई , एसके राई, संगठन प्रमुख शेखर छेत्री, दार्जिलिङ आञ्चलिक समितिका सभापति केबी राई, सचिव उद्धव खनाल, सदस्य जेके राई, आरके राई, बीआर सोताङ, नारी मोर्चाबाट नीलम राई, बिन्दिया गोतामे,छेसाङ तामाङ, शर्मिला मास्के ,संगम राई लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। उक्त भेटघाटपछि पत्रकारहरुलाई सम्बोधन गर्दै दार्जिलिङका भाजपा विधायक नोमन राईले यो भेटघाट धन्यवाद भन्नलाई हो भनी बताएका छन्। उनले भने,यसपालीको चुनावमा जितेपछि हिजो म गोरामुमो कार्यालय पुगेको थिएँ भने आज म क्रामाकपा कार्यालयमा आएर भेटघाट साथै धन्यवाद भन्न आएको हो। अन म भाजपाको मात्र होइन तर सम्पूर्ण दार्जिलिङ क्षेत्रको विधायक हुँ।’

उक्त भेटघाट कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै क्रामाकपाका वरिष्ठ नेता एवं पूर्व सांसद आरबी राईले दार्जिलिङको वर्तमान अवस्थामा विधायक नोमन राई आशाको किरण हो भनी बताएका छन्। उनले विधायकप्रति क्रामाकपाको पूर्ण समर्थन रहेछ भनी बताएका छन्।










