म्याड्रिड: युक्रेनकी मार्टा कोस्त्युकले असाधारण प्रदर्शनको साथ म्याड्रिड ओपन टेनिस टुर्नामेण्टमा महिला एकलको खिताब जितिन्। चरम रोमाञ्चक फाइनलमा कोस्त्युकले रुसकी मीरा एण्ड्रीवालाई सीधा सेटमा ६-३, ६-५-ले पराजित गरिन्। यो उनको म्याड्रिड ओपन अनि डब्ल्यूटीए १००० स्तरमा पहिलो खिताब हो। रुसले २०२२-मा युक्रेनमाथि आक्रमण गरेको थियो अनि अहिलेसम्म यी दुई देशबीच युद्ध जारी रहेको छ। यसैकारण यी दुईजना खेलाड़ीले म्याचपछि कोर्टमा हात मिलाइनन् अनि पुरस्कार समारोहमा पनि एकसाथ फोटो खिचाइनन्। कोस्त्युक म्याड्रिड ओपनमा खिताब जित्ने शीर्ष २०-बाट बाहिर रहने पहिलो खेलाड़ी बनेकी छन्। टुर्नामेण्टमा २६औं वरीयता प्राप्त युक्रेनकी खेलाड़ीले पहिलो सेट सजिलै जितिन् तर दोस्रो सेटमा चाहिँ नवौं वरीयता प्राप्त एण्ड्रीवाले कड़ा चुनौती पेश गरिन्। कोस्त्युकले पनि निर्णायक क्षणमा धैर्यको साथ खेल्दै म्याच जितिन्। विश्व ऱ्याङकिंगमा २३औं स्थानमा रहने कोस्त्युकले म्याच जितेपछि भनिन्, यो मेरो करियरको सबैभन्दा ठूलो जीतहरूमा एउटा हो अनि यसको निम्ति कठोर मेहनत गरेकी थिएँ। आज यहाँ सबैको साथ अनि समर्थनबीच ट्रफी जितेर खुशी छु।










