याङ्गुन/लन्डन: म्यान्मारको सैन्य सरकारले विगत तीन वर्षदेखि जेलमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सू चीलाई घरमा नजरबन्दमा सारेको छ। सैनिक जुन्टाले सू चीको ३३ वर्षको जेल सजायलाई घटाएर १८ वर्षमा झारिएको समेत दाबी गरेको छ। सन् २०२१ मा जननिर्वाचित सरकारलाई सैनिक कू मार्फत अपदस्थ गरेपछि ८० वर्षीया सू चीलाई राजधानी न्यापिडअस्थित एक गोप्य जेलमा राखिएको थियो।
सरकारी सञ्चारमाध्यमले सू ची दुई जना बर्दीधारी सैनिक अधिकारीसँग बसिरहेको एउटा तस्बिर सार्वजनिक गर्दै उनको अवस्था सामान्य रहेको सङ्केत गर्न खोजेको छ। तर, लन्डनमा रहेका उनका छोरा किम एरिसले भने उक्त तस्बिर र सैन्य सरकारको घोषणाप्रति गम्भीर शङ्का व्यक्त गरेका छन्। उनले बीबीसीसँग कुरा गर्दै सार्वजनिक गरिएको तस्बिर करिब चार वर्ष पुरानो रहेको र आफ्नी आमा जीवितै रहेको ठोस प्रमाण नपाएसम्म सैन्य सरकारको दाबीलाई विश्वास गर्न नसकिने बताएका छन्।
सन् १९९१ की नोबेल शान्ति पुरस्कार विजेता सू चीले आफ्नो जीवनको लामो समय सैन्य शासनविरुद्धको सङ्घर्षमा बिताएकी छन्। यसअघि पनि उनले १५ वर्षभन्दा बढी समय घरमै नजरबन्दमा बिताउनुपरेको थियो। अन्तर्राष्ट्रिय समुदायले सू चीमाथि लगाइएका भ्रष्टाचार र अन्य अभियोगहरूलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित र आधारहीन भन्दै आएका छन्। विश्लेषकहरूका अनुसार, पछिल्लो समय सशस्त्र विद्रोहीहरूका कारण दबाबमा रहेको सैन्य नेतृत्वले अन्तर्राष्ट्रिय वैधता प्राप्त गर्न सू चीको सजाय कटौतीको कार्ड प्रयोग गरेको हुन सक्छ।










