जबलपुर: मध्य प्रदेशस्थित नर्मदा नदीको बर्गी बाँधमा पर्यटकीय क्रुज दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। मध्य प्रदेश पर्यटन विभागको उक्त क्रुज शुक्रबार अचानक आएको हावाहुरीका कारण सन्तुलन बिग्रिएर पल्टिएको हो।
करीब ३० जना पर्यटक सवार उक्त क्रुज नर्मदाको ‘ब्याकवाटर’ मा पल्टिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अचानक मौसममा आएको परिवर्तन र तीव्र गतिको हावाका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्।
दुर्घटनामा सरकारी निकायको गम्भीर लापरवाही समेत देखिएको छ। भारत मौसम विज्ञान विभागले पहिले नै जबलपुर क्षेत्रका लागि ‘येलो अलर्ट’ जारी गर्दै ४० देखि ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने चेतावनी दिएको थियो। यस्तो जोखिमपूर्ण मौसममा पनि क्रुज सञ्चालन गर्न अनुमति दिनुलाई प्रमुख लापरवाही मानिएको छ।
दुर्घटना लगत्तै परिचालन भएको उद्धार टोलीले हालसम्म १५ जनाको जीवितै उद्धार गरेको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बाँकी बेपत्ताहरूको खोजीका लागि एसडीआरएफ र गोताखोरको विशेष टोली परिचालन गरिएको छ। उद्धार कार्यको प्रत्यक्ष निगरानी जिल्ला कलेक्टर राघवेन्द्र सिंह र वरिष्ठ प्रहरी अधिकारीहरूले गरिरहेका छन्।
राज्य सरकारले मृतकका परिवारलाई प्रतिव्यक्ति ४ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने घोषणा गरेको छ। हाल ब्याकवाटर क्षेत्रमा बेपत्ता भएका अन्य यात्रुहरूको खोजीका लागि सर्च अपरेसन तीव्र पारिएको छ।









