झारखण्डको देवघर स्थित बैद्यनाथ धाम मन्दिर : केही जानकारी

00-dbdc2f14-ed87-4505-bb36-1ce679f97f1a

भारतको प्रसिद्ध शैव तीर्थस्थलहरूमा झारखण्डको देवघर स्थित बैद्यनाथ धाम मन्दिरलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। यस मन्दिरको सबैभन्दा ठूलो विशेषता यो छ कि यसको शीर्षमाथि त्रिशूल नभएर पंचशूल छ। यसकारण यसलाई सुरक्षा कवच मानिन्छ। धर्माचार्यहरूका अनुसार पंचशूल मानव शरीरमा भएका पाँच विकार क्रमशः काम, क्रोध, लोभ, मोह अनि ईर्ष्यालाई नाश गर्ने प्रतीक हो। पंचशूल पंचतत्व क्रमशः क्षिति, जल, पावक, गगन अनि समीरद्वारा बनिएका मानव शरीरको द्योतक हो। यहाँ आएका श्रद्धालु अनि भक्तहरू यदि कुनै कारणवश भोले बाबाको दर्शन गर्न नसके, यहाँ रहेको पंचशूलको दर्शनले मात्र पनि सम्पूर्ण पूण्यफलहरू उनीहरूलाई प्राप्त हुँदछ।

मान्यता छ कि पंचशूलको दर्शनले मात्र पनि भगवान शिव प्रसन्न हुने गर्दछन्। धार्मिक ग्रन्थहरू अनुसार भगवान शंकरले आफ्नो प्रिय शिष्य शुक्राचार्यलाई पंचवक्त्रम निर्माणको विधि बताएका थिए। लंकापति रावणले पछि यस विद्यालाई शुक्राचार्यसित सिकेका थिए। रावणले लंकाको चारैतिर पंचशूलको निर्माण गराएका थिए। यसलाई तोड़्न रामलाई सजिलो थिएन। विभिषणले पछि यसको रहस्यबारे जानकारी भगवान रामलाई दिए। त्यसपछि अगस्त्य मुनिले पंचशूल ध्वस्त गर्ने विधान बताएका थिए। रावणले त्यही पंचशूललाई यस मन्दिरमा लगाएका थिए, जसले यस मन्दिरलाई कुनै क्षति पुर्याउन नसकोस्। सम्पूर्ण ज्योतिपीठहरूको मन्दिरको शीर्ष माथि त्रिशूल रहे पनि बाबा बैद्यनाथ धाम मन्दिरमा नै पंचशूल स्थापित छ।

यहाँ रहेका मुख्य मन्दिरमा स्वर्ण कलशमाथि लगाइएका पंचशूल सहित यहाँ बाबा बैद्यनाथ मन्दिर परिसरको सम्पूर्ण २२ वटा मन्दिरहरूमा लगाइएका पंचशूलहरूलाई वर्षमा एकपल्ट शिवरात्रिको दिन सम्पूर्ण विधि-विधानसहित तल झारेर सबैलाई एक विशेष स्थानमा राखेर विशेष पूजा गरिन्छ। यसपछि पुन: आ-आफ्नो स्थानमा स्थापित गरिदिने कार्य गरिन्छ। भगवान भोलेनाथका भक्तहरूले बिहारको भागलपुर स्थित सुल्तानगञ्जबाट बग्ने गरेको उत्तरवाहिनी गंगाबाट जल भरेर १०५ किलोमीटरको पैदल यात्रा गर्दै बैद्यनाथ धाम मन्दिर पुग्छन अनि बाबा बैद्यनाथलाई जलाभिषेक गर्ने गर्दछन्।

हुनत् यस मन्दिरमा प्रायः वर्षभरि नै शिवभक्तहरूको भीड़ हुने गर्दछ, तर सबैभन्दा बढी भीड़ सावन महीनामा हुने गर्दछ। हिजोआज देश-विदेशका विभिन्न ठाउँहरूबाट भगवान भोलेनाथको दर्शन गर्न यहाँ श्रद्धालु अनि भक्तहरूको आगमन हुन थालेको हामी पाउँछौं। जानकारीअनुसार अहिले यहाँको ज्योतिलिंगमाथि जलाभिषेक गर्नेहरूको संख्यामा दिन-दिनै लगातार वृद्धि हुने क्रम जारी छ। ***

(लेखक दार्जीलिङ पहाडका सुपरिचित पत्रकार हुनुहुन्छ)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement