डुवर्स विभूति संवाद टोलीद्वारा कालचिनी खण्डको विभिन्न ठाउँहरूको भ्रमण

ac451ea8-1dc7-4c24-a37e-4233678081cc

कालचिनी- डुवर्स नेपाली साहित्य विकास समितिद्वारा गठित डुवर्स विभूति संवाद टोलीले डुवर्सको विभिन्न ठाउँहरूमा भ्रमण गर्दै मौखिक रूपमा रहेको इतिहासलाई लिखित गर्दै दस्तावेजीकरण गर्ने जमर्को कसेको छ। यस क्रममा टोलीले डुवर्सको मदारीहाट, बीरपाड़ा क्षेत्रको दुम्सीपाड़ा, मदारीहाट हुँदै कालचिनी खण्डको कालचिनी, राजाभातखावा सुन्तलाबारी आदि क्षेत्रमा पुगेर त्यहाँका पुराना मान्छे तथा समाज, साहित्य र सांस्कृतिक क्षेत्रमा जड़ित व्यक्ति औ व्यक्तित्वहरूसित भेटघाट गरेर भलाकुसारी एवम् क्षेत्रको इतिहास आदि बारेमा जानकारी लिने काम गरेको टोलीका प्रमुख तथा डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रबिन खवासले जनाएका छन्। उक्त टोलीमा रबिन खवास लगायत विशिष्ट समालोचक रुपेश शर्मा, डुनेसाविसको सांस्कृतिक प्रकोष्टका अजय खड़का र हर्कु तामाङले कालचिनीमा वरिष्ट साहित्यिक व्यक्तित्व आसबहादुर लिम्बु, सागर राई देवान, ललित न्यासुर, समाजसेवी तिलक शर्मा, राजभातखावाका वरिष्ठ समाजसेवी तथा डुनेसाविसका संस्थापक दुर्गा राई चामलिङ, लालसिंह भुजेल, बक्साद्वारको प्रवेशद्वार सुन्तलाबारीका समाजसेवी अरुण कुमार राई एवम्  अन्यान्यसित सौजन्य भेटवार्ता गरेको थियो।

 यसरी नै कालचिनी आउन अघि टोलीले मदारीहाटका वयोवृद्ध बुद्धिजीवी बीएम योञ्जन (माईला बाउ), हन्टापाड़ा चियाबारीको कृष्ण योञ्जन गड़बड़े आदि विभूतिहरूसित भेटघाट गरेको थियो। टोलीले मूलतः यो प्रथम अनौपचारिक ढङ्गमा यात्रा शुरु गरेको र यसलाई अझै व्यवस्थित गरेर आगामी दिनमा कार्यक्रम तर्जुमा गरिने जनाएका छन्। यस यात्राको क्रममा विषेषगरी डुवर्स नेपाली साहित्य विकास समितिका संस्थापक सदस्यहरू औ वरिष्ठ व्यक्तित्वहरूसित भेटघाट गरिएको र डुवर्समा आजसम्म लिखित तथा दस्तावेज गर्न नसकिएको घटनाहरूलाई रेकर्ड गर्ने कार्य गरिएको र वर्तमान सञ्चार माध्यमलाई प्रयोग गरेर यी भेटवार्ता र भलाकुसारीलाई यूट्यूब, फेसबुक आदि सामाजिक सञ्जाल मार्फत दस्तावेजीकरण गर्ने जमर्को रहेको पनि रबिन खवासले जनाएका छन्। अब दोस्रो चरणको व्यवस्थित विभूति संवाद यात्रामा डुवर्सका ओझेलमा परेका लोक कलाकारहरू स्रस्टाहरूको अन्तरवार्ता लिने साथै डुवर्सको पुर्वी छेउ असम भोटाङ सीमान्त कुमारग्राम खण्डको क्षेत्रमा पनि पुग्ने भावी कार्यक्रम रहेको रबिन खवासले थप जनाएका छन्। कालचिनीमा टोलीलाई साथ दिने सृजनशील समूहको सचिव चन्दन भट्टराई र कोषाध्याक्ष नामग्याल लामा एवम् समूहलाई डुवर्स विभूति संवाद टोलीको पक्षबाट धन्यवाद ज्ञापन गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement