जेरूसलम: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई आगामी निर्वाचनमा सत्ताच्युत गर्न दुई भिन्न विचारधारा भएका प्रमुख विपक्षी नेताहरूले चुनावी गठबन्धन गरेका छन्। पूर्व दक्षिणपन्थी प्रधानमन्त्री नफ्ताली बेनेट र मध्यमार्गी विपक्षी नेता याएर लापिडले आ–आफ्नो पार्टीलाई विलय गराई ‘याचाड’ (हिब्रु भाषामा यसको अर्थ ‘सँगै’) नामको नयाँ दल घोषणा गरेका हुन्।
यो विलयसँगै ‘याचाड’ इजरायलको सबैभन्दा ठूलो विपक्षी दल बनेको छ भने नफ्ताली बेनेट प्रधानमन्त्री नेतन्याहुका मुख्य प्रतिद्वन्द्वीका रूपमा अगाडि आएका छन्। इजरायली सञ्चारमाध्यमहरूले यस कदमलाई ‘नाटकीय’ संज्ञा दिँदै नेतन्याहुलाई सत्ताबाट बाहिर निकाल्न गरिएको अन्तिम प्रयास भनेका छन्।
इजरायलमा आगामी ६ महिनापछि संसदीय निर्वाचन हुँदैछ। उदारवादी पत्रिका ‘हारेत्ज’ का अनुसार बेनेट र लापिडबीचको यो एकता ‘वास्तविक स्थितिको दबाब’ का कारण सम्भव भएको हो। बेनेटले दक्षिणपन्थी मतदाताहरूलाई आफ्नो पक्षमा पार्न र नेतन्याहुको लिकुड पार्टीलाई चुनौती दिन यो एकता अपरिहार्य रहेको बताएका छन्। उनले भनेका छन्, “म जित्नका लागि आएको हुँ।”
यसअघि सन् २०२१ मा पनि नेतन्याहुलाई सत्तामुक्त गर्न बेनेट र लापिडले गठबन्धन सरकार बनाएका थिए, तर आन्तरिक कलहका कारण उक्त सरकार लामो समय टिक्न सकेको थिएन। यसपटक पनि बेनेटका पुराना भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा उनले कहिल्यै लापिडलाई प्रधानमन्त्रीका रूपमा समर्थन नगर्ने दाबी गरेका थिए । यद्यपि, बदलिँदो राजनीतिक समीकरणले यी दुई धुर विरोधीलाई पुनः एकै ठाउँमा उभ्याएको छ ।










