(प्रतिष्ठित गायक-सङ्गीतकार-गीतकार विनोद स्याङदेनले नेपाली संसारलाई कयौं गीतहरु उपहार स्वरूप दिएर अनन्त यात्रामा प्रवेश गरेl गएको महिना २४ सेप्टेम्बरमा उनको आकस्मिक देहावसान भयो। उनी आज यस भौतिक संसारमा छैनन्, तर उनका गीतहरु सदा सदैव नेपाली संसारमा गुन्जिरहने छन् अनि अनन्तकालसम्म हरेक नेपाली हृदयमा विनोद स्याङदेन बाँचिरहने छन्l उनका उकाली ओरालीका कथा व्यथाहरुलाई सुपरिचित साहित्यकार कालूसिंह रनपहेंलीले प्रस्तुत गरेका विशेष लेख यहाँ प्रस्तुत छ)
कालूसिंह रनपहेंली (मो. ९४३४४१०६४६)
विनोद स्याङदेनका गीतहरूमा जीवनको उकाली ओरालीमा आफैंले सुसेलेका कथा व्यथाहरू हुन्छन्, भोगेका रमाइला-विरमाइला पलहरू हुन्छन्। त्यसो त विनोद स्याङदेन त्यो उचाइ हो जहाँ हाम्रो सम्मान फुलिरहेको हुन्छ, गौरव अग्लिरहेको हुन्छ। उनले सङ्गीतको गहिराइबाट गीति मोतीहरू टिपेर श्रोताका श्रवण गलामा हार बनाएर पहिर्यादिएका छन्। ख्यातिका कलाकार विनोद स्याङदेनलाई चिनाउने कैयन् प्रचलित गीतहरू छन् जस्तै- म त सत्य सत्य भन्छु, यदि मेरो गल्तीमा… (शब्द: मदन ओझा, सङ्गीत: अशोक राई, स्वर: विनोद स्याङदेन); सङ्लो दिल प्रीतिको बोकेर जवानी रोज्न आउँला… (शब्द: मदन ओझा, सङ्गीत: विनोद स्याङदेन, स्वर: दावा ग्याल्मो र विनोद स्याङदेन); म त हिँड़ें कारगील छाउनी फर्की आउँछु आउँदिनँ… (शब्द-सङ्गीत-स्वर: विनोद स्याङदेन); तिमीले भइगयो जे गरे पनि इन्साफ माग्दिनँ…(शब्द: रविन्द्र शाह, सङ्गीत: अशोक राई, स्वर: विनोद स्याङदेन); ओ दार्जीलिङ तेरो संस्कृति किन दुख्दैछ…(शब्द-सङ्गीत-स्वर: विनोद स्याङदेन); कहाँ छौ कस्तो छौ कि रोई बस्दैछौ…(शब्द-सङ्गीत-स्वर: विनोद स्याङदेन); नौडाँड़ापारि नौरङ्गी डाँफे, नौ फूल नटिप…(शब्द: मञ्जुल राल्फा, सङ्गीत-स्वर: विनोद स्याङदेन) आदि।
त्यसो त विनोद स्याङदेनको स्वरका पहाड़भरि फुलेका साङ्गीतिक चाँपगुराँसहरूले नै चिनाउँछन् विनोद स्याङदेन को हुन् भनेर! तर हामीले उनीबाटै जान्न पाएका छौं उनको जीवनका यी कुराहरू,‘मेरो जन्म मगरजुङ चिया कमानमा ५ जनवरी १९५३ को दिन माता नङसल तामङ र बाबु टेकबहादुर स्याङदेनको कोखमा भएको हो। प्राथमिक शिक्षा यही मगरजुङबाट शुरु गरेर पोख्रेबुङ हाइ स्कूलबाट स्कूल फाइनल गरेपछि आरकेएसपीबाट उच्चत्तर माध्यमिक उतीर्ण गरें। त्यसपछि सरकारी महाविद्यालय दार्जीलिङ पुगें तर मेरो स्नातक पूरा हुनसकेन। व्यवसायको कुरा आउँदा, म चाकरी-जीवनभरि शिक्षण पेशामा लागिपरें। मैले काम गरेका स्थानहरूमा ओदलाबारी नेपालमा सबैभन्दा पहिले काम गरें। त्यसपछि सिक्किममा पञ्चायत अनि ग्रामीण विकाश विभागमा वर्क चार्जमा काम गरें। त्यहाँ म सिच्चे प्राथमिक पाठशालामा काम गर्दै थिएँ, त्यहाँबाट मलाई स्थानान्तर गरियो तादोङमा। त्यसपछि म सिङताम हाइस्कूल आएँ। त्यहाँ काम गरिरहेको थिएँ तर सन् १९७९ मा सिक्किम छोड़ेर फेरि यता दार्जीलिङ नै आएँ अनि यता पनि शिक्षण पेशामा सन् १९८५ देखि नियुक्ति पाएर काम गर्नथालें। यता यही हाम्रै मगरजुङ भेकका तीनवटा स्कूलहरूमा काम गरें- मगरजुङ भस्मे प्राथमिक पाठशाला, शालीग्राम प्राथमिक पाठशाला अनि अन्त्यमा नागरी चियाकमान प्राथमिक पाठशाला जहाँबाट सन् २०१३ मा अवकाश ग्रहण गरें।’

‘मगरजुङ चिया कमानमा जन्म ग्रहण गरेका प्रतिष्ठित गायक कलाकार विनोद स्याङदेन हरेक प्रचलित गीतसित हरेकपल्ट नै जन्मिरहे। उनले आफ्नो गायनबारे उनले यसरी बताएका छन्, ‘मेरो पारिवारिक परिवेश नै सङ्गीतमय थियो। मेरा काका एल.बी. स्याङदेन गाउनुहुन्थ्यो। उहाँ काकाकहाँ गीतकार मदन ओझा पनि आइरहनुहुन्थ्यो। दुईजनाको बीचमा गीतहरू खुब छुट्थ्यो। म दैलोको चेपबाट लुकेर सुन्ने गर्थें पहिले-पहिले। त्यहाँबाटै मलाई पनि सङ्गीतमा चासो बढ्दै गयो। त्यसपछि बिस्तारै हार्मोनियम बजाउनु सिकें उहाँहरूसँगै। स्कूल पढ्दा स्कूलका कार्यक्रमहरूमा पनि भाग लिनथालें। पोख्रेबुङ हाइ स्कूलमा जब म सातौं श्रेणी पढ्थें, सरहरूले मलाई भानु जयन्तीमा गाउनु भन्नुभयो। म त्यो कार्यक्रममा मञ्चमा निस्कें। मैले पहिलोचोटि नारायण गोपालले गाएका गीत ‘चुमेर पानाभरि…’ मञ्चमा गाएँ। पहिला गाउँदाखेरि त काम्दै गाएको थिएँ। श्रोताको प्रतिक्रिया राम्रो आउँदाखेरिचाहिँ मैले पनि गाउन सक्ने रहेछु भन्ने भयो। सबैबाट उत्साह पाएँ त्यतिखेर। त्यही गीतदेखि मैले मेरो साङ्गीतिक यात्रा शुरु गरेको थिएँ। यो सन् १९६४ को कुरा हो। त्यसपछि मैले जीडीएनएसतिर सङ्गीत प्रतियोगितामा भाग लिएँ। सन् १९७० मा मैले सङ्गीत गरेको गीत एकजना भाइले गाउनुभएको थियो र त्यसमा सर्वश्रेष्ठ सङ्गीतकारमा तेस्रो पुरस्कार पाएको थिएँ। त्यसपछि सन् १९७० मा मैले स्कूल फाइनल उतीर्ण गरेपछि सन् १९७२ मा कालेबुङ बीटी गर्नुको लागि गएँ। त्यहाँ अशोक राई दाज्यूसँग मेरो भेट भयो। उहाँले पनि मेरो स्वर मन पराउनुभयो। त्यहाँ बीटी कालेजका मञ्च कार्यक्रमहरू प्राय: मैले नै व्यवस्था गर्ने गर्थें। टाउन हलमा पनि निस्कें म। एकपल्ट प्रसिद्ध साहित्यकार डा. पारसमणि प्रधानको उपस्थितिमा लोकगीत प्रतियोगिता भएको थियो, त्यसमा म पहिलो स्थानमा आएको थिएँ। त्यतिबेला पारसमणि प्रधान सरले एउटा रामायण पुस्तक पुरस्कारको रूपमा दिनुभएको थियो। त्यहाँदेखि सन् १९७२ मा अशोक दाइले ‘रिकर्डिङ गर्नुपर्छ है अब तिम्रो स्वरमा, म कुरा चलाउँछु कलकत्ता एचएमभीमा’ भनेर उहाँले कुरा चलाएपछि रेकर्डिङको तैयारीमा लागें। त्यतिबेला दाइ मदन ओझाले एउटा गीत पठाउनुभएको थियो। शब्द थियो, ‘म त सत्य सत्य भन्छु…’ अनि रवीन्द्र शाहको एउटा गीत रहेछ अशोक दाइसित ‘तिमीले भइगयो जे गरेपनि इन्साफ माग्दिनँ…’, ती गीतहरू लिएर कलकत्ता एचएमभी स्टुडियो पहिलोपल्ट पुगें अशोक दाइसित। पहिलोपल्ट जाँदाखेरि त खोइ केके प्रक्रिया मिलेन कुन्नि, हामी त्यहाँबाट त्यत्तिकै रेकर्ड नगरी नै फर्क्यौं। त्यहाँबाट हामी फेरि दोस्रोपल्ट गयौं। त्यसपल्टचाहिँ हामीले गीतहरू रेकर्ड गर्र्यौं। अशोक दाइले गाउनुभएको मेरा काइँला मामा कुमार घिसिङको शब्द रचनाको गीत- ‘म विष पिउँछु साथी, मलाई तिमी नरोक है…’ र अर्को गीत ‘आकाशलाई म माया गर्थें आकाश नै झुकेछ…’ यी गीतहरू रेकर्ड गरेर यता कालेबुङ फर्क्यौं। मेरो बेसिक ट्रेनिङकै अवधिमा यी रेकर्डिङहरू भए, यो सन् १९७२ को कुरा हो। कालेबुङमा त्यतिबेला सङ्गीत प्रतियोगिताहरू धेरै हुने गर्थ्यो। कालेबुङका राम्रो गीत गाउने गायक छुजाङ डुक्पासित पनि मेरो सम्पर्क बढ़्यो। उनले ग्याल्बो छिरिङ योञ्जनका शब्द र मेरो सङ्गीत रचनामा एउटा गीत गाएर कुमुदिनी होम्सको सङ्गीत प्रतियोगितामा पहिलो पुरस्कार जिते। गीतको बोल थियो ‘हुरी बतासैमा उड़ेछौ, आँधी बेह्रीमा फँसेछौ…।’ सन् १९७३ मा मैले बीटी सिध्याएर यता आएँ। त्यसपछि म सिक्किमतिर लागें। सिक्किममा पसेपछि प्राय:जसो कार्यक्रमहरूमा एकदमै व्यस्त भइयो। गान्तोकमा पोस्ट एण्ड टेलिग्राफको कार्यालय उद्घाटन हुँदा त्यतिबेला पनि कार्यक्रम गर्यौं। सिक्किम सरकारी महाविद्यालयमा डा. शोभाकान्ति थेगिम लेप्चा दिदी हुनुहुन्थ्यो, उहाँले कालेजको उद्घाटन कार्यक्रममा बोलाउनुभएर हामी त्यहाँ पनि संलग्न भयौं। मेरो गीत ‘म त सत्य सत्य भन्छु…’ जतिबेला हिट भयो त्यो गीतले धेरै नाफा गरेछ कि क्या हो एचएमभीले सिक्किममा बस्दाहुँदी मलाई कलकत्ताबाट कोटा पठायो आठवटा गीतको। त्यतिबेलाचाहिँ ‘सङ्लो दिल प्रीतिको बोकेर, जवानी रोज्न आउँला कल्पना मीठो…’ गायिका दावा ग्याल्मो र मैले गाएका थियौं। सङ्गीतकार वसन्त छेत्रीले त्यतिबेलै ‘शहरभित्र केको हल्ला मेरो मायालु आउने बेलामा…’ गरेका थिए भने शङ्कर गुरूङले मेरो सङ्गीतमा एउटा गीत गरेका थिए, ‘जोगाऊ है फूलजस्तो जोवन…’ शब्दकार थिए स्व.मदन राई। त्यहाँदेखि अर्को कोटामा बद्री-दुर्गा खरेल गए। त्यत्तिबेला उनीहरूले ‘सपनाको संसारभरि…’ गीत मलाई गाउन दिए जुन गीत दावा ग्याल्मो र मैले गाएका थियौं। ‘गाइने दाइलाई सुनकेशरीको…’ पनि त्यतिबेलै रेकर्डिङ भएजस्तो लाग्छ। त्यसपछि एकपल्ट ‘कहीँ उज्यालो कहीं अँध्यारो’ फिल्मको रेकर्डिङमा गयौं। त्यतिबेला इन्द्र थपलिया दाइले कलकत्ता जानुपर्छ भनेर भन्नुभयो अनि हामी गयौं। फिल्मको एउटा जुवारी गीत थियो, ‘हिमालैचुली त्यो पल्लोपट्टि कान्छा कलैमा…।’ ती गीतहरू त्यतिबेला गर्यौं अनि अन्तिम रेकर्डिङचाहिं सन् १९८० मा ‘नौ डाँडापारि नौरङ्गी डाँफे…’ यो गीत गरेका थियौं। यो गीतका शब्दकार मञ्जुल राल्फा अनि सङ्गीतचाहिँ मैले नै गरेको थिएँ। अर्को गीतचाहिँ कवि जीवन थीङको गरेका थियौं। म कलकत्ता जाने बेलामा कवि जीवन थीङ अस्पतालमा भर्ना भएका थिए अनि उनलाई भेट्नुजाँदा ‘लौ है राम्रोसँग गरेर आउनुहोस्!’ भनेका थिए। उनको गीत,‘बदनाम ओठहरू…’ मैले गरेको थिएँ अनि त्यही नै थियो मेरो त्यतिबेला गरेको अन्तिम गीत पनि। त्यहाँबाट यता दार्जीलिङ आएर फेरि गीत सङ्गीतको काममै जुटें। काठमाडौंतिर पनि गएँ। रेडियो नेपालमा पनि धेरैवटा गीतहरू गाएँ। त्यतिबेला गीतकार-गायक-सङ्गीतकार गोपाल योञ्जन, गायक भक्तराज आचार्यहरूले हामीलाई धेरै सहायता गर्नुभएको थियो। काठमाडौंमा वसन्त छेत्रीको सङ्गीत अनि सकुन हाङखिमका शब्दमा, ‘लाए माया तोड़िन्छ…’, र ‘जीवन यात्रामा…’ रेकर्ड गरेका यियौं। जीवन यात्रामा ‘मेरो प्रीतका घाउ धेरै छन्…’ भन्ने गीतका शब्दकार थिए मदन ओझा। पाण्डव सुनारको पनि गाएँ मैले एकपल्ट। मैले नुपूर भट्टचार्यलाई पनि गीत दिएँ। उहाँसँग पनि मेरो युगल गीत छ एउटा। ‘ओ दार्जीलिङ’ काठमाडौंमा नै रेकर्डिङ गरें मैले। अरू त मैले यतै गरें रेकर्डिङ। मेरो एल्बम ‘कारगिल छाउनी’ पनि यतै गरें। यता रेकर्ड गरेको अर्को एल्बम थियो ‘लक्ष्य’। सिक्किमका मुख्यमन्त्री पवन चामलिङ महोदयले मलाई लक्ष्य एल्बम रेकर्डिङको निम्ति आर्थिक सहयोग दिनुभएको थियो। अर्को एल्बम थियो ‘दाइजो’ त्योचाहिं मैले काठमाडौंमा नै रेकर्डिङ गरेको थिएँ। ‘ओ दार्जीलिङ’ काठमाडौंमा रेकर्डिङ गरेको भए पनि मार्केटिङचाहिँ यतै गरेको थिएँ। मैले आफ्नै शब्दहरूमा गरेको एल्बम थियो ‘एउटै टिस्टा छ सिमाना हाम्रो’। अरू एल्बमहरूमा नाम लिनुपर्ने ‘इम्प्रेसन’ पनि हो। अन्य साना-साना अरू साथीहरूका एल्बमतिर एक-दुइवटा गीतहरू गाएको छु।’
प्रसिद्ध कलाकार विनोद स्याङदेनले सङ्गीतलाई जीवनमा कसरी लिएका थिए त्यसबारे उनीबाटै हामीले जान्न पायौं, ‘सङ्गीत भनेको अथाह सागर हो। मैले सङ्गीतलाई विशेष त शौकको हिसाबले पनि लिएको छु। नयाँ पिँढ़ीका जति पनि पुरूष र नारी स्वरहरू छन् उनीहरूलाई जतिसक्दो हामी हुँदा नै प्रचार-प्रसारमा ल्याउने र हामीपछि उनीहरूले हाम्रो गीत-सङ्गीतलाई सँगालेर लैजाऊन् भन्ने मेरो विचार र प्रयास पनि छ।’
आफू आकाशवाणीसित जोड़िएको कुरा सम्झनाको तरेलीबाट निकालेर बताउनहुन्छ विनोद स्याङदेनज्यू, ‘आकाशवाणी खरसाङसित त म सन् १९८० मा आघुनिक गायनमा अडिसन पास गरेर जोड़िएको हुँ। त्यसपछि रेडियोमा गीतहरू गाउनुसित संलग्न रहें। रेडियो नेपालमा पनि सन् १९८० मै गएर अडिसन पास गरेको थिएँ। आफ्ना गीतकार, सङ्गीतकारहरूबारे बताउँदै विशिष्ट गायक विनोद स्याङदेनज्यू, ‘मैले विशेष गरेर सङ्गीतकारहरूमा वसन्त छेत्रीको गाएँ, अशोक राईको गाएँ अनि बद्री-दुर्गा खरेलको गाएँ। गायिकाहरूमा काठमाडौंकी सुनिता सुब्बादेखि, सुकमीत गुरूङ, इन्दु स्याङबो, दावा ग्याल्मो, अनुपमा प्रधान, हीरा साइली, बानिका प्रधान, निशिका सुब्बा, प्रतीक्षा थापा आदिलाई गीत दिने अनि उनीहरूसँग गाउने मौका पनि पाएँ। मेरा शब्दकारहरूमा मदन ओझाको गीत ‘म त सत्य सत्य भन्छु…’ देखि नै मैले गीत शुरु गरेको हुँ। अरू शब्दकारहरूमा मञ्जुल, हरिभक्त कटुवाल, भैरवनाथ रिमाल, जस योञ्जन ‘प्यासी’, कृष्णराज घतानी, सञ्जय बान्तवा आदिका गीतहरू गाएँ।’
‘हामीले हाम्रा गीतहरूलाई बचाइराख्नचाहिं के गर्नुपर्छ भन्ने यहाँ सोच्नुहुन्छ?’ सङ्गीत, कला र संस्कृतिको निम्ति मरिमेट्ने समर्पित कलाकार विनोद स्याङदेनको उद्गार, ‘हाम्रा पुराना कुराहरूलाई बचाइराख्नको लागि जुन हाम्रा पुराना गीतहरू छन्, पहिलादेखिकै, तिनीहरूको लयलाई हामीले पछ्याउनु छोड़नु हुँदैन। हामीले पछ्याउन छोड्यौं भने हाम्रा ट्यूनिङहरू पनि नष्ट भएर जान्छन् जम्मै। जुन मौलिकता छ त्यो हराएर जान्छ अनि जताभावी रचना सृजना हुन्छ। मौलिकता भन्ने कुरोचाहिँ हामीले दीगो राख्नुपर्यो, कायम राखिरहनुपर्यो।’ पुरस्कारहरूको कुरा गर्दा जीटीए दार्जीलिङबाट सन् २०१८ मा अरूणा लामा स्मृति पुरस्कारले अलङ्कृत भइसकेका प्रसिद्धिका कलाकार विनोद स्याङदेन बताउँछन् ,‘श्रोताको मायानै मैले जीवनमा पाएको सबैभन्दा ठूलो पुरस्कार मान्छु। तथापि विभिन्न सङ्घ, संस्थानहरूबाट पाएका प्रशस्तिपत्र, सम्बर्द्धना र अभिनन्दनहरू छन्।’ आफूलाई सङ्गीतको क्षेत्रमा अग्रसित बन्न प्रेरणा दिनेहरूमा उहाँ नाम लिनुहुन्छ, ‘मलाई सङ्गीत क्षेत्रमा प्रेत्साहन गर्नेहरूमा मेरी पत्नी श्रीमती लक्की डोमा लामाको भरपूर सहयोग छ। मेरा काका एलबी स्याङदेन पनि हुन्। प्ररेणा दिनेहरूमा गीतकार मदन ओझालाई पनि म सम्झन चाहन्छु। मेरा दुई छोरा प्रशान्त र अश्विन अनि छोरी स्मिता स्याङदेनको पनि भरपूर सहयोग पाएको छु।’
अहिलेसम्म डेड़सय जति गीतहरू गाइसकेका बताउनुहुने गायक विनोद स्याङदेन श्रोताका मनमा अमेट छाप भएर अङ्कित बनेका कलाकार हुन्। आफ्ना भावी योजनाहरूबारे बताउँदै उनी, ‘स्पोन्सर पाए त गीतहरू लिएर एउटा म्युजिकल टूर नै गर्ने योजना थियो। एल्बम निकाल्ने योजनाचाहिँ छ। ज्यादा होइन अबचाहिँ चार-पाँचवटा गीत गर्ने विचार छ। कम्ती गर्ने तर एकदमै राम्रो।’
‘एक असल कलाकार हुनलाई कुनकुन कुरोको आवश्यक्ता हुँदो रहेछ त?’ यो प्रश्नलाई अनुभवले परिपक्व गायक, सङ्गीतकार तथा गीतकार विनोद स्याङदेनको उत्तर, ‘हामीले मौलिकता छोड़नु भएन। हाम्रो अभ्यास जारी राख्नुपर्यो। जहिले पनि दर्शक श्रोताको मन जित्ने, हृदय छुने गीतहरूको प्रस्तुति दिनुपर्यो। मनमा कुनै प्रकारको डर र सङ्कोच हुनुभएन। कलाकार अलिकति खुल्ला व्यवहारको पनि हुनुपर्यो। अहं हुनुभएन। नम्र हुनुपर्यो। व्यवहारकुशल हुनुपर्यो। साधना र अभ्यास रहनुपर्यो। उच्छृङ्खल हुनुभएन। कम्पोजहरू गर्दा पनि समाजलाई केही दिनसक्ने गीतहरू हुनुपर्यो। समाजलाई दिएको कुरो एकदिन मूल्याङ्कन त अवश्य हुन्छ नै। मूल्याङ्कन हुनसक्ने गीतहरूको प्रस्तुति दिनुपर्यो।’ ***