गान्तोक: आगामी १० नोभेम्बरको दिन सम्पन्न हुने पञ्चायत चुनाउको निम्ति गेजिङ जिल्लाबाट जिल्ला पञ्चायतको निम्ति २ जना उम्मेदवारले नामाङकन पत्र बुझाएका छन् भने वार्ड पञ्चायतको निम्ति ६ जनाले बुझाएका छन्। आज नामाङकन पत्र बुझाउने तेस्रो दिन जिल्ला पञ्चायतको निम्ति दुई जनाले र वार्ड पञ्चायतको निम्ति ६ जनाले नामाङकन पत्र बुझाएको जानकारी प्राप्त भएको छ। उनीहरूले आज गेजिङ जिल्लाकी जिल्लापाल अर्थात रिटर्निङ अधिकारी हिस्से. डी योङदासमक्ष आफ्नो नामाङकन पत्र बुझाएका हुन्/सक्नेछन्। सोही प्रकारले नामाङकन पत्र बुझाउने आज तेस्रो दिनको क्रममा नाम्ची जिल्लाबाट कूल ८३ जनाले नामाङकन पत्र बुझाएका छन् जसमा १३ जनाले जिल्ला पञ्चायतको निम्ति र रहलले वार्ड पञ्चायतको निम्ति बुझाएको जानकारी गराएको छ।यसरी नै गान्तोक जिल्लाबाट आज पञ्चायत चुनाउको निम्ति कूल ७३ जनाले नामाङकन पत्र बुझाएका छन्। जिल्लापाल कार्यालयबाट प्राप्त जानकारी अनुसार ७३ जना मध्ये १० जनाले जिल्ला पञ्चायत उम्मेदवारकोरूपमा नामाङकन पत्र बुझाएका छन्।

सोही प्रकारले सोरेङ जिल्लाबाट आज कूल ३५ जनाले नामाङकन पत्र बुझाएका छन्, जसमा ३३ जनाले वार्ड पञ्चायत र २ जनाले जिल्ला पञ्चायतको निम्ति फारम भरेका छन्। उल्लेखनीय छ, राज्यमा पहिलोपल्ट पार्टीलेस पञ्चायत चुनाउ हुन गइरहेको छ भने यसको मतगणना आगामी १२ नोभेम्बरको दिन हुने भएको छ। यसरी नै उम्मेदवारहरूले २१ अक्टोबरसम्म आफ्नो नामाङकन पत्र फिर्ता लिनसक्ने छन्। उम्मेद्वारहरूले आगामी १८ अक्टोबरसम्म आफ्नो नामाङकन पत्र बुझाउन सक्नेछन्।