गान्तोक। राज्यको पर्यटन एवं नागरिक उड्डयन विभागको आयोजनामा सम्पन्न हुने जङ्गुदेखि गोचाला हुँदै योक्समसम्म पदयात्रालाई आज बिहान यहाँको एमजी मार्गस्थित पर्यटक सूचना केन्द्र अघिबाट हरियो झण्डा देखाइयो। पर्यटन एवं नागरिक उड्डयन विभागका सचिव प्रकाश छेत्रीले यस पदयात्रालाई हरियो झण्डा देखाए। २२ सदस्य टोलीमा सबै प्राविधिक सहयोग साथै जङ्गुका स्थानीयहरू सामेल छन्।यस अवधि विभागका विशेष सचिव सुश्री कर्मा डोमा योत्सो, वित्त विभागका निदेशक कर्मा ग्यात्सो दावा लगायत सम्बन्धित विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रमलाई पर्यटक सूचना केन्द्रका टोलीसँगै एडभेञ्चर सेक्सनका सह-निदेशक मनोज छेत्रीले समन्वय गरेका थिए।
जङ्गुदेखि गोचाला हुँदै योक्समसम्मको उक्त पदयात्रा मार्ग विश्वभरिका पदयात्रीहरूलाई आकर्षित गर्न डिजाइन गरिएको हो। पदयात्राको अनुमानित दूरी ११० किलोमिटर रहेको छ। यसलाई १२ दिनभित्र पूरा गर्न सकिने लख काटिएको छ। योक्समदेखि भाया गोचाला अनि योनगिटार हुँदै अप्पर जङ्गुसम्मको गोचाला ट्र्याकिङलाई बढ़ावा दिन यो पदयात्राको मुख्य उद्देश्य रहेको छ। आजदेखि शुरु भएको पदयात्राले स्वदेशी अनि विदेशी पर्यटकहरूलाई कञ्चनजंघा वरिपरिका उत्कृष्ट पदयात्राको विकल्पहरूमध्ये उत्कृष्ट रहेको सन्देश दिन चाहेको छ।