नयाँ दिल्ली: इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) को नेतृत्व सम्हालेको भनिएका ब्रिगेडियर जनरल अहमद वाहिदी लामो समयदेखि सार्वजनिक रूपमा नदेखिनुले अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो कौतुहलता र आशंका पैदा गरेको छ। गत मार्च महिनामा उनलाई आईआरजीसीको नयाँ प्रमुख नियुक्त गरिएको समाचार सार्वजनिक भए पनि, सरकारी तवरबाट यसको आधिकारिक पुष्टि नहुनु र उनी स्वयम् कुनै पनि कार्यक्रममा उपस्थित नहुनुले इरानको भित्री सैन्य प्रशासनमा अन्योल रहेको संकेत गर्दछ।
विशेष गरी, इजरायली र अमेरिकी आक्रमणमा मारिएका भनिएका वरिष्ठ कमाण्डरहरूको ठाउँ लिन आएका वाहिदीको यो मौनतालाई अर्थपूर्ण रूपमा हेरिएको छ। आईआरजीसीका अन्य उच्च अधिकारीहरू सार्वजनिक र्याली र सैन्य केन्द्रहरूको भ्रमणमा सक्रिय देखिँदा वाहिदी भने फेब्रुअरी यता सञ्चारमाध्यमको नजरबाट टाढा छन्। कतिपयले यसलाई इरानी राष्ट्रपति मसूद पेज़ेश्कियान र संसदका सभामुखसँगको बढ्दो राजनीतिक मतभेदको परिणाम मानेका छन् भने कतिपयले अमेरिकाको ‘हिट लिस्ट’ मा रहेका कारण उनलाई सुरक्षा घेराभित्र गोप्य राखिएको हुनसक्ने अड्कलबाजी गरेका छन्।
इरानमा सर्वोच्च नेताको उत्तराधिकारी चयनको चर्चा र क्षेत्रीय तनाव बढिरहेका बेला, सेनाको उच्च ओहोदामा रहेका व्यक्तिको यो रहस्यमयी ‘गायब’ शैलीले इरानको आन्तरिक सत्ता समीकरण र भावी रणनीतिमा ठूलो फेरबदल भइरहेको आभास दिलाउँछ।









