१४ अक्टोबरः डुवर्स होपको तत्त्वावधानमा मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा) शुक्रवार, १४ अक्टोबरदेखि शुरु भयो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आज भएको उद्घाटन म्याचमा स्टालिन नगर बाघडुग्राले बीयूएफए-लाई टाईब्रेकरमा ६-५-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। आज मुख्य अतिथिको रूपमा बाग्राकोट ग्राम पञ्चायतका अञ्चल प्रेसिडेण्ट राजेश छेत्री, सुशिल कुमार प्रसाद र गोरुबथान ४३ नम्बर समष्टिको सभासद रतन थापा उपस्थित थिए। अब शनिवार खेलिने म्याचमा तोर्सा स्पोर्टिंग क्लब र कालेबुङ पुलिसबीच भिड़न्त हुनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ८ र १० नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।