१४ अक्टोबरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार नागरी एफसी-ले आरामदायक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको दोस्रो राउण्डको म्याचमा नागरी एफसी-ले डी9 मंगपूलाई ६-१-ले पराजित गऱ्यो। विजेता टीमबाट नवांग तामाङ एक्लैले ४ गोल गरे। यसबाहेक प्रियांशु थापा र अभिषेक राईले १-१ गोल गरे। यसरी नै डी९-बाट लोबेन तामाङले १ गोल गरे। भोलि खेलिने म्याचमा शारदा हाई स्कूल (मंगपू) र मेनहुड (कान्दुंग)-बीच भिड़न्त हुनेछ। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक हिमगिरी युथ क्लबका कार्यकारी सदस्य रोमन आलेले बताएका छन्।