मंगपू गोल्ड कपः युनाइटेड ब्रदर्स क्वार्टर फाइनलमा

IMG_20221014_204243.jpg

१४ अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२ शुक्रवारदेखि शुरु भयो। मंगपू जन मैदानमा आज खेलिएको उद्घाटन म्याचमा कालेबुङको युनाइटेड ब्रदर्सले सशस्त्र सीमा बल (एसएसबी, रानीडांगा)-लाई टाईब्रेकरमा ३-१-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। युनाइटेड ब्रदर्स एक समय २ गोलले अघि रहे पनि एसएसबी-को टीमले अन्तिम समयमा २ गोल गरी म्याच बराबरीमा पुऱ्यायो। त्यसपछि टाई ब्रेकरमा गोलकीपर रिशप छेत्रीको उत्कृष्ट प्रदर्शनले युनाइटेड ब्रदर्सलाई क्वार्टर फाइनलमा पुऱ्यायो। नियमित समयको खेलमा युनाइटेड ब्रदर्सबाट अनिमेश गुरुङ र सौरभ तामाङले गोल गरे। यसरी नै एसएसबी-बाट विकास कुमार यादव र द्विमालु ब्रह्माले गोल गरे। अब शनिवार खेलिने म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) र नर्थ बेंगल आर्म्ड पुलिस (डाबग्राम)-बीच भिड़न्त हुनेछ। आज मुख्य अतिथिको रूपमा सभासद रतन थापा उपस्थित थिए। यसरी नै विशिष्ट अतिथिको रूपमा सभासद सतिश पोख्रेल, नोभल बोम्जन, सिनोरा नाम्चु अनि ढेण्डुप पाख्रिन उपस्थित थिए। दुईवटा सेमिफाइनल २२ र २३ अक्टोबरमा खेलिनेछ। यसरी नै फाइनल ३० अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement