कालचिनी – बिहीबार दलसिंहपाड़ा जटु लाईन संलग्न तोर्षा नदीको बगरबाट एकजना अपरिचित व्यक्तिको मृतदेह जयगाउँ थानाको पुलिसबलले उद्धार गरेको थियो भने उक्त अज्ञात शवको परिचय प्राप्त गर्न सकिएको थिएन। आज बिहान मात्र पुलिसले उक्त शवलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार जिल्ला अस्पताल पठाउने तयारी गरिरहेको समय मृतकको आफन्तहरू आएर शवको सनाखत गरेपछि मृतकको परिचय खोलिएको थियो।
उक्त मृतकको परिचय बलराम राय (५९) बर्ष अलिपुरद्वार संलग्न उत्तर माझेरडाबरी क्षेत्र बासिन्दाको रुपमा पाएको पुलिस सुत्रले जनाएका छन्। मृतकको परिवार सदस्यले बताए अनुसार बलराम राय भोटाङमा काम गर्न गएको थियो। घरमा आउनलाई ठेकादारलाई कमाएको पैसा माग्दा नदिएपछि नदीको बाटो भएर यता भारततर्फ आउने क्रममा तोर्षा नदीमा डुबेर मृत्यु भएको आशंका परिवार सदस्यहरूले गरेका छन्।