वर्तमान मुख्यमन्त्रीलाई आफ्नो चौकी कसरी बचाउने भन्ने मात्र चिन्ता: भाइचुङ भोटिया

IMG_20221014_190726.jpg

गान्तोक: हाम्रो सिक्किम पार्टी (एचएसपी) का अध्यक्ष भाइचुङ भोटियाले सिक्किमका वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ अहिलेसम्मकै सबैभन्दा कमजोर मुख्यमन्त्री रहेको गम्भीर आरोप लगाएका छन्। वर्तमान मुख्यमन्त्री ब्याकडोरबाट एण्ट्री भएकाले ‘पपेट सीएम’ रहेको पनि उनले आरोप लगाएका छन्। राजधानीमा अाज आयोजित एक पत्रकार सम्मेलनमा भोटियाले उक्त आरोप लगाए।

भाइचुङ भोटियाले सिक्किमका वर्तमान मुख्यमन्त्री ‘पपेट सीएम’ रहेकाले सिक्किमको निम्ति खतरा रहेको बताए। उनले जबसम्म वर्तमान मुख्यमन्त्री चौकीमा रहिरहने छन् तबसम्म सिक्किम र सिक्किमेहरूको अस्तित्व खतरामा रहेको आसय व्यक्त गरे। उनले हालैमा केन्द्रिय गृह मन्त्री अमित शाह सिक्किम भ्रमणमा आउॅंदा मुख्यमन्त्रीले सिक्किमको पक्षमा केही माग राख्न नसकेको आरोप लगाए।

भोटियाले केन्द्रिय गृह मन्त्री समक्ष मुख्यमन्त्रीले आईएलपीको माग राख्नु त टाड़ाको कुरा राष्ट्रिय राजमार्ग १० को सोचनीय अवस्थाको समेत कुरा नगरेको दाबी गरे। उनले वर्तमान मुख्यमन्त्रीलाई आफ्नो चौकी कसरी बचाउने भन्ने मात्र चिन्ता रहेको आरोप लगाए।

भोटियाले, यस अतिरिक्त आगामी १६ अक्टोबरको दिन अधमपुलमा इनर लाइन परमिट (आईएलपी) लाई लिएर ‘जन संवाद’ राखिएको जानकारी गराए। उनले आईएलपी सिक्किमको निम्ति समयको माग रहेको बताए। अहिले सिक्किममा आईएलपी लागू नगरिए भविष्यमा सिक्किमेहरूले ठूलो समस्या झेल्नु पर्नेछ भनी उनले बताए।

एचएसपी अध्यक्षले सिक्किम चारवटा अन्तरराष्ट्रिय सीमाले घेरिएको राज्य रहेको बताउॅंदै देशमा यदि कुनै राज्यलाई आईएलपी चाहिएको छ भने त्यो सिक्किम रहेको बताए। उनले राष्ट्रिय सुरक्षाको निम्ति पनि सिक्किममा आईएलपी आवश्यक रहेको बताए। उनले सिक्किममा आईएलपी लागू गर्न सबैलाई राजनीतिदेखि माथि उठेर काम गर्नु पर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement