पेम्बा रिम्पोर्छेको बयानको भागोप्रमोद्वारा खण्डन

IMG-20221014-WA0272.jpg

खरसाङ: खरसाङको सामी लाखाङ गुम्बाका धर्मगुरू पेम्बा रिम्पोर्छेले चिया श्रमिकहरूको रिलिफ फण्डमाथि केन्द्र गरेर जीटीए मुख्य कार्यपाल अनित थापामाथि गरेको टिप्पणीको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा खण्डन गरिएको छ। भागोप्रमो खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले एक विज्ञप्ति जारी गरेर उनको बयानको खण्डन गरेका छन्। विज्ञप्तिमा रामुदामुले भनेका छन्- धर्म गुरु भई धार्मिक आस्था र विश्वासलाई कायम राखी ज्ञान बड्न छोड़ेर कुर्सीमा बस्ने सपना देख्ने खरसाङ सामी लाखाङ बुद्धिष्ट गुम्बाका धर्म गुरु पेम्बा रिम्पोर्छेलाई सर्वप्रथम त उनी को हुन र उनको सही परिचय के हो? जानकारी दिने आग्रह गर्दछु। धार्मिक आस्थामाथि खेलवाड़ गर्दै राजनीतिक बयानबाजी दिन अघि पेम्बा रिम्पोर्छेले जुन विषयमाथि बयान दिइरहेका छन् वास्तवमा त्यस विषयमा उनलाई के कति ज्ञान छ? भन्ने जान्न चहान्छु। जुन रिलिफ फण्डको कुरा गरेर उनले चियाबगानमा खटि खाने हाम्रा सिधा सोझा आमा बाबा, दाज्यु भाई, दिदी बहिनीहरुलाई आफ्नो फाइदाको निम्ति प्रयोग गर्न खोजीरहेका छन्। त्यसमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको पक्षबाट भर्त्सना जनाउँदछु।’
महकुमा प्रवक्ता रामुदामुले अघि भने, उनले रिलिफ फण्डबारे पुरानो सिडी नबजाएको उचित होला, कारण जनताद्वारा आफ्नो बहुमूल्य मतदान गरी विजय बनाएर पठाएका जीटीए सभाका सभासदहरू लगायत पाँचजना मनोनित सभासदहरुद्वारा जीटीएको पहिलो सभामा नै उक्त रिलिफ फण्डको प्रयोगबारे प्रस्ताव पारित गरि सकेको छन्। आज आएर आफ्नो राजनीतिक रोटी सेक्न चियाबगानका सोझो जनतालाई उस्काउने कार्य एक धर्म गुरु भई गरेकोमा ‌घोर आपत्ति जनाउँदछु। धर्म गुरुको हामी सम्मान गर्छौ तर यसरी जताभावी बयानबाजी गरेर हिड्छन् भने औंला उठाउन बाध्य पनि हुन्छौं। हाम्रो उद्देश्य कुनै धर्म वा धर्मगुरुहरुको गरिमालाई धमिल्याउनु होइन। तर धर्मको आड़ लिएर राजनीति अखडामा आउँछन् भने ओठेँ जवाब खान तयार बस्नु पर्छ।’
उनले धर्म गुरुलाई अझ आफ्नो ज्ञान चक्सु खोलेर बयानबाजी गर्ने निवेदन गर्दछु नत्र भोलि को के हो भन्ने केलाउन परे ठीक नहोला, गुम्बामा बसेर चेतावनी दिनुभन्दा धार्मिक कार्य गरे उचित हुने जनाउन चहान्छु भनी सुझाव राखेका छन्। रामुदामुले भने, ‘भागोप्रमो अध्यक्ष अनित थापा पहाडको यस्तो नेता हुन् जसले राजनीतिक संस्कारलाई परिवर्तन गरिरहेका छन्। भोटको राजनीतिदेखि माथि उठेर कार्य गर्ने नेता केवल अनित थापा मात्र हुन् र उनको घरमा चिया बगानका श्रमिकहरूलाई लिएर जाने जुन चेताउनी दिएका छन् त्यो हास्यस्पद बयानबाजी मात्र हो। धर्म गुरुलाई नयाँ पार्टीको निम्ति अग्रिम शुभकामना व्यक्त गर्दै जिब्रोलाई लगाम लगाउने साथै राजनीति नै गर्ने हो भने धर्मलाई ढाल नबनाउने सुझाव दिन चहान्छु।’

About Author

Advertisement