तीनधारे महानदी समष्टिमा चुनाउ शान्तिपूर्ण

IMG-20260423-WA0091

हाम्रो कामलाई हेरेर जनताले यसपाली हामीलाई जिताउँछ भन्ने आशा छ: सभासद नवराज छेत्री

खरसाङ: विधानसभा चुनाउ अन्तर्गत खरसाङ विधानसभा समष्टिको तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा चुनाउ शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ। तीनधारे महानदी समष्टिको महानदी, घैयाबारी, तीनधारे, चुनभट्टी क्षेत्रमा रहेका विभिन्न बुथहरुमा चुनाउ शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ।‌ महानदी तीनधारे समष्टिको चारवटा ग्राम पञ्चायतहरु क्रमैले महानदी, घैयाबारी तीन, घैयाबारी दुई र शिवखोला ग्राम पञ्चायत अन्तर्गत पर्ने २२ वटा बुथहरुमा समाचार लेखुञ्जेलसम्म मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यस समष्टिमा पर्ने विभिन्न बुथहरुमा जनताले उत्साहपूर्ण रुपमा मतदानमा सहभागी बन्दै आफुले रुचाएको उम्मेद्वारहरुलाई भोट दिएका छन्। यसपालीको विधानसभा चुनावमा एसआईआरको कारणले नाम डिलिट भएका धेरै मतदाताहरुले मतदान गर्न पाएनन्। यस अन्तर्गत महानदी तीनधारे महानदीको चारवटा ग्राम पञ्चायतहरुको विभिन्न बुथहरुमा धेरैजनाको‌ मतदाता सूचीबाट नाम डिलिट भएका छन्। एसआईआरमा नाम डिलिट भएकाहरुले यसपाली भोट हाल्न पाएनन्। जसको कारण भोटको समीकरणमा निक्कै असर पर्न सक्ने सम्भावना देखिएको छ। यस अन्तर्गत तीनधारे महानदी समष्टिको घैयाबारी ग्राम पञ्चायत तीनमा मात्रै ३३४ जनाको नाम डिलिट भएको जानकारी प्राप्त भएको छ। यसको साथै यस समष्टिभित्र घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५९ रोहिणी क्षेत्रमा ४३४ जनाको नाम अण्डर एडजुडिकेशन अर्थात् विचाराधीन अवस्थामा रहेको थियो भने यस बुथमा मात्रै १३३ जनाको नाम डिलिट भएको जानकारी प्राप्त भएको छ। यसको साथै यस समष्टिभित्र पर्ने चारवटा ग्राम पञ्चायतहरु र २२ वटा बुथहरुमा पनि धेरै मतदाताहरुको नाम डिलिट भएको कारणले मतदान गर्नबाट वञ्चित भएका छन्।यसपालीको चुनावमा हरेक बुथमा सुरक्षा व्यवस्था कठोर गरिएको छ। प्रत्येक बुथमा चारजना केन्द्रीय सुरक्षा बल तैनाथ गरिएको देखिएको छ। महानदी तीनधारे समष्टि क्षेत्रमा भएको चुनाउ विषयमा पत्रकारहरुसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टि मात्रै होइन तर जीटीए‌ क्षेत्रमा नै चुनाउ शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताए। उनले यस समष्टिभित्र पर्ने चारवटा ग्राम पञ्चायतहरु र २२ वटा बुथहरुमा नै चुनाव शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको दाबी गरेका छन्। उनले भने, हाम्रो संगठनको चारवटा ग्राम पञ्चायतहरु ग्राम पञ्चायत स्तरीय ब्लक स्तरीय कमिटी रहेको र सबै २२ वटै बुथहरुमा संगठन एकदमै राम्रो भएकोले यसपाली भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेद्वार अमर लामाको जीत निश्चित रहेको छ। हामीले‌ २६५ दिन नै काम गरिरहेको कारणले हाम्रो कामलाई हेरेर यसपाली जनताले हामीलाई जिताउने कुरामा पूर्ण रूपमा आशावादी रहेका छौँ।’

सभासद नवराज छेत्रीले अघि भने, मतदाताहरु बिहानदेखि उत्साहित भएर लाइनमा उँभिएर मतदान गरेका छन्। यसपालीको मतदानलाई लिएर जनतामा उत्साह देखिएको छ’
उनले अझ भने, मतदाता विशेष गहन संसोधन एसआईआरको कारणले यस समष्टिको धेरै मतदाताहरुको नाम डिलिट भएको छ र डिलिट भएकाहरुका लागि क्याम्प राखेर अपिल गरेका थियौं र चुनाउ सकेर पनि डिलिट हुने मतदाताहरूक‌ा लागि काम गर्नेछौँ।’

पत्रकारहरुलाई सम्बोधन गर्दै तीनधारे निवासी विनयकुमार छेत्री, घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य योगराज प्रधान र घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत समिति सदस्य एवं कर्माध्यक्ष दावा वाङ्दी लामाले पनि जीतप्रति आशावादी रहेको र सबैप्रति चुनाउ शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको बताएका छन्।

About Author

Advertisement