नामफिङमा अन्तर्राष्ट्रिय जगनी महामहोत्सव सुरु

FB_IMG_1776621512642

धार्मिक पर्यटनका लागि नयाँ पूर्वाधारको घोषणा

नाम्ची: नाम्ची जिल्लाको नामफिङस्थित श्रीकृष्ण प्रणामी मंगलधाममा साताव्यापी ‘अन्तर्राष्ट्रिय जगनी महामहोत्सव’ आइतबारदेखि धार्मिक अनुष्ठान र भक्तिमय कार्यक्रमका साथ सुरु भएको छ। महोत्सवको उद्घाटन समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, विधानसभा उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीगण, विधायक तथा विभिन्न स्थानबाट आएका श्रद्धालुहरूको उल्लेख्य उपस्थिति थियो।
​महोत्सवको नेतृत्व गुजरातको जामनगरस्थित नवतनपुरीधामका जगद्गुरु आचार्य श्रीकृष्णमणिजी महाराज, सुरतका जगद्गुरु आचार्य सूर्यनारायण दास महाराज, सिक्किमका महन्त सुदाकर महाराज र नेपालको सिमरास्थित कृपासिन्धु गुरुकुलकी विदुषी उषा माताजी लगायतका आध्यात्मिक गुरुहरूले गरिरहेका छन्।
​कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आध्यात्मिक शिक्षाले मानिसलाई नैतिक मूल्य र आदर्श जीवनतर्फ डोऱ्याउने बताए। सिक्किमलाई शान्ति र सद्भावको भूमि उल्लेख गर्दै उनले यस्ता महोत्सवले राज्यको आध्यात्मिक गरिमा बढाउने विश्वास व्यक्त गरे। आफूलाई ‘राज्यको प्रमुख सेवक’ का रूपमा प्रस्तुत गर्दै मुख्यमन्त्रीले आफ्नो राजनीतिक यात्रामा आध्यात्मिकताको ठूलो प्रभाव रहेको र सहानुभूतिमा आधारित शासन नै आफ्नो प्राथमिकता रहेको बताए।
सिक्किममा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मुख्यमन्त्री तामाङले धेरै नयाँ परियोजनाहरूको घोषणा समेत गरे। उनले पाकिम जिल्लाको रिनाकमा ‘राम धाम’, सोरेङको थार्पुमा ‘श्रीकृष्ण प्रणामी मंगलधाम’ र गेजिङको लेगशिपमा मन्दिर पुनर्निर्माण गर्ने योजना सार्वजनिक गरे।
​यसैगरी, सोरेङको दोदकमा निर्माणाधीन ‘वृन्दावन धाम’ को कार्य अन्तिम चरणमा पुगेको र चाँडै उद्घाटन गरिने उनले जानकारी दिए। मुख्यमन्त्रीले श्री १०८ दामोदरदास महाराजको जन्मस्थल बेन (तिमी-नामफिङ) लाई राज्य सरकारले प्रमुख तीर्थस्थलको रूपमा विकास गर्ने घोषणा समेत गरे।

​आगामी २८ अप्रिलमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सिक्किम भ्रमणका क्रममा नवनिर्मित ‘अतिथि सदन’ को भर्चुअल उद्घाटन गरिने कार्यक्रम रहेको पनि उनले जानकारी गराए। २७ अप्रिलसम्म चल्ने यस महामहोत्सवमा सिक्किम, दार्जिलिङ, डुवर्स र नेपालका विभिन्न क्षेत्रबाट हजारौंको संख्यामा भक्तजनहरू सहभागी भइरहेका छन्।

About Author

Advertisement