मन्त्री साम्डुप लेप्चाद्वारा थेङ चेक पोस्टको निरीक्षण

FB_IMG_1776620358966

​पर्यटकसँग विनम्र व्यवहार गर्न र सरसफाइमा ध्यान दिन निर्देशन

मङ्गन: ​सामाजिक कल्याण विभागका मन्त्री एवं लाचेन-मङ्गन निर्वाचन क्षेत्रका विधायक साम्डुप लेप्चाले आज बिहान थेङ वार्डको भ्रमण गरी क्षेत्रीय अवस्थाको समीक्षा गरेका छन्। भ्रमणका क्रममा उनले विशेष गरी थेङ चेक पोस्टको वस्तुस्थितिको अवलोकन गर्दै स्थानीय व्यवस्थापनलाई चुस्त बनाउन आवश्यक निर्देशन दिए।
​निरीक्षणका क्रममा मन्त्री लेप्चाले वातावरणीय स्वच्छता र वार्डको सरसफाईलाई प्राथमिकतामा राख्नुपर्ने बताए। क्षेत्रलाई व्यवस्थित राख्नका लागि फोहोर व्यवस्थापनका निम्ति उपयुक्त स्थानको छनोट गर्नुपर्नेमा उनले जोड दिए।
​मन्त्री लेप्चाले थेङ क्षेत्रमा नियमित रूपमा सफाई अभियान सञ्चालन गर्न सुझाव दिँदै भने, ​”पर्यटकहरूका लागि यो एउटा महत्त्वपूर्ण प्रवेशद्वार हो, त्यसैले चेक पोस्टमा खटिएका कर्मचारी र स्थानीयले पर्यटकहरूसँग अत्यन्तै विनम्र र सम्मानजनक व्यवहार गर्नुपर्छ। हाम्रो व्यवहारले नै पर्यटकलाई सकारात्मक सन्देश दिन्छ र उनीहरूको भ्रमण अनुभवलाई अविस्मरणीय बनाउँछ।”

भ्रमणका क्रममा उनले स्थानीय पूर्वाधारको सुधार र सरसफाइ व्यवस्थापनमा सरकारको तर्फबाट पूर्ण प्रतिबद्धता रहने आश्वासन समेत दिएका छन्। मन्त्रीको यस सक्रियताले स्थानीय प्रशासन र बासिन्दाहरूमा उत्साह थपेको सरकारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

Advertisement