मंगपू गोल्ड कपबाट बाहिर गरिएको फसेलालाई बताउँदै कानूनी कदम उठाउने तर्खरमा यूकेएफसी

IMG-20221014-WA0111.jpg

१४ अक्टोबरः स्थानीय खेलाड़ीहरूलाई लिएर लगभग ३३ सालदेखि निरन्तर प्रदर्शन गर्दै आएको युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-ले शुक्रवार (१४ अक्टोबर)-देखि शुरु मंगपू गोल्ड कप फूटबल टुर्नामेण्टलाई लिएर बयान जारी गरेको छ। यस प्रतिष्ठित आमन्त्रणी टुर्नामेण्टको शुरुवाती कार्यक्रममा यूकेएफसी-लाई सामेल गरिए पनि खराब मौसमले गर्दा संशोधित कार्यक्रमबाट चाहिँ टीमको नाम हटाइएको हुनाले यूकेएफसी-का अधिकारीहरूले निराशा व्यक्त गरेका छन्। बिहीवार यूकेएफसी-द्वारा जारी प्रेस विज्ञप्तिमा क्लबका सचिव विशाल शर्माले मंगपू गोल्ड कपको आयोजक मंगपू युथ क्लबको फसेलालाई चरम हताशाजनक बताएका छन्। उनले भने, हामीलाई पहिला टुर्नामेण्टमा हिस्सा लिनको निम्ति आमन्त्रित गरिए पनि पछिबाट संशोधित कार्यक्रमबाट यूकेएफसी-लाई हटाइएको छ। यो हाम्रो निम्ति ठूलो धक्का हो। हामीले मंगपू गोल्ड कपमा हिस्सा लिनको निम्ति नै अन्य दुईवटा महत्त्वपूर्ण टुर्नामेण्टमा नखेल्ने फसेला गरेका थियौं। हामीलाई अलिपुरद्वार र बहरमपुरबाट पनि टुर्नामेण्टमा हिस्सा लिने निम्तो आएको थियो तर मंगपू गोल्ड कपलाई ध्यानमा राखेर नै हामीले ती दुईवटा टुर्नामेण्टमा हिस्सा नलिने फसेला गरेका थियौं तर अहिले आयोजक समितिको फसेलाले क्लबको गरिमालाई ठेस पुगेको छ। यूकेएफसी पहाड़ी फूटबलको गौरवशाली इतिहास बोकेको क्लब हो। यसरी अन्तिम क्षणमा टुर्नामेण्टबाट बाहिर गरिनु एकदमै अनुचित कार्य हो। यस अवसरमा विशाल शर्माले मंगपू गोल्ड कपका आयोजकहरूद्वारा जारी पत्रलाई पनि सार्वजनिक गरे, जसमा खराब मौसमले गर्दा कार्यक्रमलाई छोटो गर्न यूएफाको पट् ड्र अनुसार दुईवटा टीम (यूकेएफसी र ५८ जीटीसी शिलंग)-लाई टुर्नामेण्टमा स्थान प्राप्त नभएको कुरा उल्लेख छ। विशाल शर्माले यूकेएफसीको वर्तमान प्रदर्शनहरूको पनि उल्लेख गर्दै भने, क्लबले गत केही समयदेखि असल प्रदर्शन गर्दै आएको छ। स्थानीय खेलाड़ीहरूलाई लिएर मैदानमा ओर्लिने हुनाले कुनै समय परिणाम सोचे जस्तो नहुन पनि सक्छ तर हामी यी स्थानीय नानीहरूलाई नै पर्याप्त मौका दिने पक्षमा छौं। बाहिरबाट खेलाड़ीहरू ल्याएर ट्रफी जित्नको निम्ति मात्र मैदानमा ओर्लिने सोच हाम्रो छैन। यसको साथमा उनले मंगपू गोल्ड कपको आयोजकहरूलाई यूकेएफसी-को तर्फबाट पत्र जारी गरिने अनि त्यसको सन्तोषजनक जवाफ प्राप्त नभए कानूनी कदम उठाइने बताए।
यस अवसरमा युकेएफसीका अध्यक्ष तथा मुख्य प्रशिक्षक उर्गेन लामा, कानूनी सल्लाहकार हेनतेन लामा, सल्लाहकार मोहन राई र सन्तोष लामाको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement