कोपा देल रेः एट्लेटिकोलाई पराजित गरी रियल सोसिएदाद च्याम्पियन

IMG-20260419-WA0050

म्याड्रिड: रियल सोसिएदादले स्पेनिश फूटबलको प्रतिष्ठित कोपा देल रे (किंग्स कप)-को खिताब जित्यो। शनिवार अबेर राति खेलिएको फाइनलमा रियल सोसिएदादले एट्लेटिको म्याड्रिडलाई पेनल्टी शूटआउटमा ४-३-ले पराजित गऱ्यो। टुर्नामेण्टमा यो रियल सोसिएदादको चौथो खिताब हो। टीमले अन्तिमपल्ट २०२१-मा कोपा देल रे-को खिताब जितेको थियो। फाइनल म्याच चरम रोमाञ्चक रह्यो, जसको पेनल्टी शूटआउटमा संयमको साथ खेल्दै रियल सोसिएदादले जीत दर्ता गऱ्यो। पेनल्टी शूटआउटमा एट्लेटिको म्याड्रिडका दुईजना स्टार फूटबल एलेक्जाण्डर सरलोथ र जूलियन अल्वारेजले मौका गुमाए। म्याचमा ३६ प्रतिशत पोजेशनको साथ खेल्ने रियल सोसिएदादले शुरुमै बढ़त हासिल गऱ्यो। एण्डर बार्रेनेट्क्साले पहिलो मिनटमै गोल गरे। त्यसपछि एडेमोला लूकमानले १९औं मिनटमा गोल गरी एट्लेटिकोलाई बराबरीमा पुऱ्याए। रियल सोसिएदादले पनि मध्यान्तरको ठीक अघि फेरि बढ़त हासिल गऱ्यो। अनुभवी फरवर्ड मिकेल ओयारजाबालले इञ्ज्युरी टाइमको पहिलो मिनटमा गोल गरे। दोस्रो हाफको खेलमा एट्लेटिकोले लगातार आक्रमण गऱ्यो अनि टीमलाई अन्तमा गएर सफलता हासिल भयो। जूलियन अल्वारेजले ८३औं मिनटमा गोल गरी स्कोर २-२-को बराबरीमा पुऱ्याए। निर्धारित समयको खेलमा स्कोर बराबरीमा रहँदा अतिरिक्त समयको खेल भयो, जसमा दुवै टीमले निर्णायक गोल गर्न नसक्दा म्याच पेनल्टी शूटआउटसम्म पुग्यो। एट्लेटिकोले पेनल्टी शूटआउटमा चाहिँ दबाउलाई सहन सकेन।

About Author

Advertisement