गान्तोक: गान्तोक, मंगन र पाकिम जिल्लालाई लिएर हाइब्रिड मोडमा जिल्लास्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गरियो। एससीइआरटीको पपुलेसन एजुकेसन सेलद्वारा आयोजना गरिएको यस कार्यक्रममा तीनवटा जिल्लाका आठौं श्रेणीदेखि बाह्रौ श्रेणीसम्मका विद्यार्थीहरूलाई समावेश गरिएको थियो। उक्त प्रतियोगितामा गान्तोक र पाकिम जिल्लाका कूल पाँच पाँचवटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए भने मंगन जिल्लाका ४ वटा विद्यालयका विद्यार्थीहरूले अंशग्रहण गरेका थिए।प्रतियोगिताको मुख्य उद्देश्य जनसङ्ख्या, किशोरावस्था र समग्र स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयहरूलाई प्रभावकारी रूपमा आफ्नो लोकलाई माध्यमकोरूपमा प्रयोग गरी अभिप्रेरित गर्ने, विद्यार्थीहरूलाई अनुभवात्मक शिक्षाको अवसर प्रदान गर्ने, विभिन्न वास्तविक जीवन परिस्थितिहरूमा आफ्नो कलाको माध्यमद्वारा जीवनयापन गर्नु रहेको थियो।

उदघाटन कार्यक्रममा एससीइआरटीका संयुक्त निर्देशक डा. शान्ति राम अधिकारी रहेका थिए। यस प्रतियोगितामा गान्तोक जिल्लाबाट रूम्तेक माध्यमिक विद्यालय पहिलो भएको छ बने सिच्छे माध्यमिक विद्यालय दोस्रो भएको छ भने पाकिम जिल्लाबाट आहो किसान माध्यमिक विद्यालय पहिलो र रम्फू बजार माध्यमिक विद्यालय दोस्रो स्थानमा आएको छ। सोही प्रकारले मंगन जिल्लाबाट फेन्सोर माध्यमिक विद्यालय पहिलो र सिङ्गिक माध्यमिक विद्यालय दोस्रो भएको छ। उक्त प्रतियोगितामा विजयी हुने दलले आगामी २९ अक्टोबरको दिन आयोजना गरिने राज्यस्तरको प्रतियोगितामा सहभागी बन्ने अवसर पाउने भएको छ।