गान्तोक: आगामी पञ्चायत चुनाउमा आरक्षण व्यवस्थालाई लिएर सिक्किम रिपब्लिकन पार्टी (एसआरपी) ले प्रश्न उठाएको छ। एसआरपीले प्रस्तावित पञ्चायत चुनाउमा आरक्षण न्यायसंगत र चित्त बुझ्दो नरहेको बताएको छ। एसआरपी अध्यक्ष केबी राईले राजधानीमा आज आयोजित एक संवाददाता सम्मेलनमा यस आसयको जानकारी गराए।
एसआरपी अध्यक्ष राईले आगामी पञ्चायत चुनाउमा एससी, एसटी, ओबीसी, महिला आदि सम्बन्धित आरक्षण चित्त बुझ्दो नरहेको बताए। उनले आरक्षणको हिसाब-किताब सही नरहेको र सही ढंगमा आरक्षण नगरिएको आरोप लगाए। उनले महिलाहरूका लागि ५० प्रतिशत आरक्षण हुनुपर्ने तर नरहेको बताए। उनले मुख्यमन्त्रीको समष्टि पोकलोक कामराङमा पनि आरक्षण सही प्रकारले गरिएको छैन, जस कारण क्षेत्रका मानिसहरूमा व्यापक असन्तुष्टि रहेको दाबी गरे।
अध्यक्ष राईले पञ्चायत चुनाउमा बीएल समुदायको निम्ति भिन्नै सीट आरक्षण रहेको विषयमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै यसका लागि पूर्वको एसडीएफ सरकार दोषी रहेको आरोप लगाए। एसडीएफ सरकारले बीएल समुदायको निम्ति यसरी आरक्षण गर्दा लिम्बू-तामाङ र सिक्किमे मूलका नेपालीहरूलाई किन छुटाए भनी उनले प्रश्न गरे।
जसरी बीएल समुदायलाई धारा ३७१ एफ ले दिएको क्षमताको आधारमा भिन्नै आरक्षण सुनिश्चित गरियो, सोही प्रकारले राज्यका अन्य समुदायहरूको निम्ति पनि गर्न सकिने थियो भन्ने उनले आसय व्यक्त गरे। तर, पूर्वको सरकारले अन्य समुदायहरूको सुरक्षाको विषयमा किन विचार गरे भनी उनले पूर्व मुख्यमन्त्रीलाई प्रश्न गरे।
उनले पञ्चायत चुनाउमा आरक्षणको विषय लिएर वर्तमान सरकारलाई पनि कठघरामा उभ्याए। एसआरपी अध्यक्षले पञ्चायत चुनाउलाई पार्टीविहीन बनाउने क्रममा वर्तमान सरकारले राज्यका बहुसंख्यक नेपाली समुदायको निम्ति पनि आरक्षण गर्ने आँट देखाउनु पर्ने थियो भनी बताए। तर, वर्तमान सरकारले ऑंट गर्न नसकेको र यसमा चुकेको उनले आरोप लगाए। उनले बहुसंख्यक नेपाली समुदायमाथि ठूलो अन्याय भएको छ भनी बताए।