गान्तोक: उत्तर सिक्किमको चुङथाङस्थित निर्माणाधीन जलविद्युत् आयोजनास्थलमा दुर्घटनावश ट्रकको चपेटामा पर्दा एक श्रमिकको मृत्यु भएको छ।
मृतक २८ वर्षीय बिकुराम कुली रहेको र उनी भारतको असम राज्यअन्तर्गत धेमाजी जिल्लाका बासिन्दा रहेको जनाइएको छ।
प्रहरीका अनुसार कुली नाइट सिफ्टमा सहकर्मीसँग कंक्रीट निर्माणका लागि कफर ड्याम साइटमा कार्यरत थिए। बुधबार बिहान काम सकेपछि उनी आफ्ना सरसामान संकलन गरिरहेका बेला क्रशर प्लान्टबाट आएको कंक्रीट मिक्सर ट्रक त्यहाँ पुगेको थियो।
ट्रक रिभर्स गर्ने क्रममा कुली त्यसको चपेटामा परेका थिए। घटनापछि सहकर्मीहरूले उनलाई उद्धार गरी चुङथाङ अस्पताल पुर्याएका थिए। त्यहाँबाट थप उपचारका लागि मङ्गन जिल्ला अस्पताल रेफर गरिए पनि बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। यस सम्बन्धमा बीएनएसएस २०२३ को धारा २८१, १०६ र १२५ तथा सीएमसी ऐन, १९८८ को धारा १८४ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।









