तीन दिने मेला पनि लाग्ने परम्परा
जलपाईगुडी: लक्ष्मी पूजा सकिएपछि जलपाईगुडीमा फेरि दुर्गा पूजा सुरु भएको छ। जलपाईगुडी सदर खण्डको पटकाटा ग्राम पञ्चायतको रंगधामाली क्षेत्रमा लक्ष्मी पूजापछि दुर्गा पूजा सुरु भएको छ। प्रत्येक वर्ष लक्ष्मीपूजापछि बिहीबारदेखि यो पूजा सुरु हुन्छ। रंगधामाली क्षेत्रको यस पुजालाई लिएर वरपरका क्षेत्रमा उत्सवको माहोल छ। पूजा सकिएपछि पनि दुर्गा पूजाको रमाइलो गर्न हजारौंको संख्यामा मानिसहरु यहाँ पुग्ने गरेका छन्। कैलाश फर्कने क्रममा माताले रंगधामालीको यही क्षेत्रमा विश्राम गरेको स्थानीयको विश्वास छ। त्यसबेला गाउँलेहरूले देवीलाई देखेर पूजा गरे। सोही परम्परालाई पछ्याउँदै हरेक वर्ष गाउँका बासिन्दाले माताको पूजा गर्ने गर्छन्। पूजाको अवसरमा यहाँ ठूलो मेला पनि लाग्छ ।रंगधामालीमा १४१ वर्षदेखि यो पुजा मेला लाग्दै आएको स्थानीयले बताए। पूजाको अवसरमा तीन दिनसम्म मेला आयोजना गरिएको आयोजक समितिका सदस्य कृष्ण दासले जानकारी दिए। जलपाईगुडीको यो पुरातन मेलालाई “महाराजाको मेला” भनिन्छ। पूजाका लागि १० लाख बजेट विनियोजन गरिएको छ।










