गुवाहाटी: साहित्य अकादमी पुरस्कारद्वारा सम्मानित प्रख्यात असमिया साहित्यकार तथा पत्रकार अनुराधा शर्मा पुजारी महापुरुष श्रीमन्त शंकरदेव विश्वविद्यालयमा ‘प्रोफेसर अफ प्र्याक्टिस’ नियुक्त भएकी छन्। असमिया साहित्य र पत्रकारिताको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै विश्वविद्यालयले उनलाई यो जिम्मेवारी सुम्पिएको हो।
विश्वविद्यालय प्रशासनका अनुसार उनको लामो अनुभव र व्यावहारिक ज्ञानले संस्थाको प्राज्ञिक वातावरणलाई थप समृद्ध बनाउने विश्वास लिइएको छ। चर्चित लेखिका तथा पूर्व सम्पादकका रूपमा ख्याति कमाएकी पुजारीको उपस्थितिले विद्यार्थीहरूलाई संवाद, व्याख्यान र मार्गदर्शनका माध्यमबाट विशेष लाभ पुग्ने बताइएको छ।
विश्वविद्यालयले उनको नियुक्तिबाट शैक्षिक तथा सांस्कृतिक गतिविधिले नयाँ उचाइ लिने र विद्यार्थीहरू थप प्रेरित हुने आशा व्यक्त गरेको छ।









