सिलगढी: दार्जीलिङ विधानसभा निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी चुलिएसँगै भारतीय जनता पार्टी र गठबन्धनका उम्मेदवार श्री नोमान राईको समर्थनमा प्रचार अभियानले तीव्रता पाएको छ। यसै सिलसिलामा आज माननीय केन्द्रीय पर्यटन तथा संस्कृति मन्त्री श्री गजेन्द्र सिंह शेखावतको विशेष उपस्थितिमा सिलगुढी र दार्जीलिङ नगरपालिका अन्तर्गतका विभिन्न क्षेत्रहरूमा घरदैलो अभियान सञ्चालन गरियो। अभियानका क्रममा केन्द्रीय मन्त्री शेखावत र उम्मेदवार नोमान राईले दार्जीलिङ शहरका विभिन्न भेगको भ्रमण गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरी आगामी निर्वाचनमा समर्थनका लागि आह्वान गर्नुभयो।
जनसेवामा प्रमाणित ट्र्याक रेकर्ड र गोर्खा हितका लागि सधैँ समर्पित नेताका रूपमा चिनिनुहुने नोमान राईले जस्तोसुकै राजनीतिक र प्रशासनिक दबाबका बीच पनि दार्जीलिङ पहाड, तराई र डुवर्सका जनताको न्यायका लागि आफ्नो संकल्पमा अडिग रहेको बताउनुभयो। अभियानका क्रममा नेताहरूले यस निर्वाचनलाई शहीदहरूको बलिदानको सम्मान गर्ने र क्षेत्रका जनताका लागि स्थायी न्याय सुनिश्चित गर्ने अवसरको रूपमा व्याख्या गर्नुभयो। उहाँहरूले हजारौँको त्यागलाई सार्थक तुल्याउन र गोर्खा समुदायको हकअधिकार सुनिश्चित गर्न नोमान राईलाई मतदान गर्न सम्पूर्ण मतदाताहरूमा हार्दिक अनुरोध गर्नुभएको छ।
केन्द्रीय मन्त्री शेखावतको यस गरिमामय उपस्थितिले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले गोर्खा समुदायको न्याय, गरिमा र उचित पहिचानको आवश्यकतालाई अत्यन्त गम्भीरताका साथ लिएको सन्देश प्रवाह गरेको छ। मन्त्री शेखावतको आगमनले स्थानीय कार्यकर्ता र समर्थकहरूमा नयाँ ऊर्जा थपेको छ भने यसले दार्जीलिङको मुद्दालाई राष्ट्रिय तहमा थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ। समग्रमा, यो घरदैलो अभियानले क्षेत्रको विकास र पहिचानको लडाइँमा भाजपा गठबन्धनको प्रतिबद्धतालाई अझ प्रगाढ बनाएको देखिन्छ।










