खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीका दुई कार्यकर्ताहरूलाई हिजो बिहीबार धारिलो हतियारले प्रहार गरी आक्रमण गरेको घटनाको दृढ विरोध गर्दै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले विरोध साथै खण्डन गरेका छन्। उनले यस घटनालाई लिएर एक प्रेस विज्ञप्ति जारी गर्दै भने, विगत २०१७ देखि दार्जिलिङ पहाडी क्षेत्रमा अनित थापाको कुशल नेतृत्वमा शान्ति बहाल भएको छ। अनित थापाले जबदेखि जीटीए सम्हालेका छन्, तबदेखि शान्ति रहिरहे पनि विपक्षी पार्टीका कथित बदमासहरूले शान्तिपूर्ण वातावरणलाई अशान्त पार्ने प्रयास गरेका छन्, जुन निकै निन्दनीय छ।’
उनले दार्जिलिङका सांसद राजू विष्ट र गोजमुमोका संस्थापक अध्यक्ष बिमल गुरुङ दुवैलाई ब्यांग्य गर्दै भने, हालै दार्जिलिङका सांसद राजू विष्ट, जो बाहिरबाट आएका छन्,ले भनेका थिए कि “सबैभन्दा ठूलो गुण्डा म हुँ,” के उनीहरूको पार्टी तानाशाही गर्न प्रयास गर्दैछ? प्रश्न गर्दै उनले भने, यो तानाशाही नीति होइन भने के हो? बिमल गुरुङको उल्लेख गर्दै उनले आरोप लगाए, हालै बीजीपीएम पार्टीका उम्मेदवार अमर लामालाई बाहिरको उम्मेदवार भनेका थिए, के यस काण्डको पछाडि उनीहरूको कथित षड्यन्त्र त होइन?
उनले यस काण्डमा संलग्न दोषीहरूको यथाशीघ्र पहिचान गरी आवश्यक कारवाही गर्नको लागि पुलिस प्रशासनसँग माग गरेका छन्। अन्त्यमा उनले भने, ‘शान्तिमय दार्जिलिङ पहाडलाई हामी अशान्त बनाउन दिँदैनौं। दार्जिलिङ पहाडी क्षेत्रमा अगणतान्त्रिक क्रियाकलापलाई हामी कतै बर्दाश्त गर्दैनौं।’











